काठमाडौंमा विद्युतीय बस सञ्चालन,सन् २०३० भित्र इन्धनवाला सवारी विस्थापित गर्ने काठमाडौं : काठमाडौं उपत्यकामा साझा यातायातले नेपालमै पहिलो पटक चिनीया कम्पनी बिवाइडीले निर्माण गरेको दुईवटा विद्युतीय बस मंगलबारदेखि सञ्चालनमा ल्याएको हो। ललितपुरको पुल्चोकस्थित हरिहर भवनमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बसको उद्घाटन गरे। बस सञ्चालनमा ललितपुर महानगरपालिकाको पनि सहकार्य रहेको साझा यातायात सञ्चालक समिति सदस्य तुलधारले बताए। बस सेवा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले २०३० भित्र इन्धनवाला सवारी विस्थापित गरी विद्युतीय सवारीसाधन सञ्चालन गरेर वातावरणमैत्री मुलुक निर्माण गर्ने बताए। इन्धनमा परनिर्भर हुनुपर्ने नेपालजस्तो मुलुकमा विद्युतीय गाडी आवश्यक रहेको ओलीले बताए। साझाले पहिलो चरणमा पाँचवटा बस सञ्चालनमा ल्याउने तयारी थालेको साझा यातयात सञ्चालक समिति सदस्य भुषण तुलधारले बताए।दुईवटा बस सोमबारदेखि संचालनमा आएका छन् भने बाँकी तीनवटा ल्याउने क्रममा रहेको उनले जानकारी दिए। बढ्दो वायुप्रदूषण नियन्त्रण गर्न विश्वले सन् २०३० भित्र इन्धनबाट चल्ने सवारीसाधनलाई विस्तापित गरी विद्युतीय बस प्रयोगमा ल्याउने प्रतिवद्धता जनाएको छ। चीन र भारतले तोकिएकै समयभित्र विद्युतीय सवारी प्रयोग गर्ने निर्णय गरेसँगै नेपाल सरकारले पनि विद्युतीय सवारी प्रयोग गर्ने घोषणा गरेको थियो।