घाँस दाउरा बेचेको आम्दानी विद्युतीकरणमा प्रकाशित मिति : 22 October, 2018 9:02 am म्याग्दी, ५ कात्तिक / म्याग्दीको धौलागिरि गाउँपालिका–७ मा रहेको धारापानी सामुदायिक वन उपभोक्ता समूहले घाँस दाउरा बेचेर भएको आम्दानी विद्युतीकरणमा परिचालन गरेको छ । वन समूहले गाउँपालिकामै पहिलोपटक धारापानीमा भएको विद्युतीकरण योजनाका लागि करीब रु साढे तीन लाख लगानी गरेको हो । हालसम्म २०१ घरधुरी उपभोक्तालाई विद्युत्को मिटर जडान गर्न रु एक हजार ७०० का दरले अनुदान दिइएको उपभोक्ता समूहका अध्यक्ष टेकबहादुर थापाले जानकारी दिनुभयो । “विद्युत् सुविधा भएपछि वन तथा वातावरण संरक्षणमा सहयोग पुग्ने भएकाले घाँस र दाउरा बेचेर जम्मा गरेको रकम सहयोग गरेका हौँ” अध्यक्ष थापाले भन्नुभयो । सात वटा वडा रहेको धौलागिरि गाउँपालिकाको धारापानीमा भदौ महीनादेखि बिजुली बल्न थालेको हो । विसं २०६७ देखि शुरु भएको विद्युतीकरण योजनाबाट २०१ घरधुरी लाभान्वित भएका उपभोक्ता समितिका सचिव किरन थापाले बताउनुभयो । सचिव थापाका अनुसार गाउँपालिका, नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्र, सामुदायिक वन उपभोक्ता समूह, स्थानीयवासी, तत्कालीन जिविस र गाविसको रु ५६ लाख ८३ हजार ७६० को लागतमा योजना निर्माण भएको हो । धेरै वर्षसम्म उज्यालोका लागि सिट्ठा र दियालो बालेर रात कटाएका धारापानीका रामबहादुर खत्रीले गाउँमा बिजुलीसँगै विकासको अवसर भित्रिएको बताउनुभयो । उज्यालोका अतिरिक्त फर्निचर, अल्लो प्रशोधन, राईसमील, मासु पसल सञ्चालन हुन थालेको छ ।