दशैंमा फोहोर नउठ्दा काठमाडौंमा महामारी फैलिने खतरा काठमाडौं / काठमाडौं उपत्यकामा नियमित रुपमा फोहोर नउठाईंदा दशैंका बेला महामारी फैलिने खतरा बढेको छ । सडक छेउ र गल्लीमा थुप्रिएको फोहोर गत साउनबाट नै नियमित रुपमा उठ्न सकेको छैन । दशैंका बेला उपत्यकामा चहलपहल घटेपनि घरबाट निस्किने फोहोर भने बढ्ने गर्छ । काठमाडौं महानगरपालिकाले फूलपातीदेखि एकादशीसम्म फोहोर उठाउने काम रोकिने भन्दै कम फोहोर उत्सर्जनन् गर्न आग्रह गरेको छ ।काठमाडौं महानगरपालिकाले फोहोर बिसर्जन गर्दै आएको नुवाकोटको सिसडोल समेत भरिएपछि थप फोहोर व्यवस्थापन हुन सकेको छैन । तर, काठमाडौं महानगरपालिकाका वातावरण विभागका प्रमुख हरि कुँवरले भने फोहोर उठाउने काम भइरहेको दाबी गरे । ‘चाडपर्वले गर्दा कम भएको हो, तर फोहोर उठाउने काम रोकिएको छैन’, उनले भने । स्थानीयले सडकमा ल्याएर फोहोर फाल्ने गरेको भन्दै उनले दशैंका बेला सडक दुर्गन्धित नहोस् भन्ने उद्देश्यले महानगरवासीलाई सचेत गराईएको उनले बताए । महानगरपालिकाले नियमित फोहोर उठिरहेको बताएपनि उपत्यकाका सडक, भित्रि गल्लीमा फोहोर ठूलो थुप्रो देखिन थालेको छ ।