निर्मला हत्या प्रकरणमा एआईजी धिरु बस्नेतको छानबिन टोली पहिलोपटक कञ्चनपुरमा कञ्चनपुर / कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणका छानबिनका लागि गठन गरिएको एआईजी धिरु बस्नेतको नेतृत्वमा टोली पहिलो पटक कञ्चनपुर पुगेको छ । सो प्रकरण छानबिनका लागि नेपाल प्रहरीले गठन गरेको सो ४ सदस्यीय टोली शुक्रबार कञ्चनपुर पुगेको हो । प्रहरीले नै निर्मलाको घटनाको अनुसन्धानमा प्रमाण नष्ट गर्न भूमिका खेलेको देखिएपछि गठित सो टोलीले प्रहरीमाथि नै अनुसन्धान तथा छानविन गरिरहेको छ । यसैका लागि एआईजी बस्नेत नेतृत्वको समिति कञ्चनपुर पुगेको हो । अनुसन्धानमा प्रहरीको भूमीका माथि नै शंका भएको भन्दै स्थानीयले विरोध जनाएपछि यो समितिले अनुसन्धानमा खटिएका प्रहरी अधिकारीलाई केरकार गर्न सुरू गरिसकेको छ । यसैगरी यस समितिले आज नै घटनास्थल, पीडित परिवारसँग भेटघाट गर्ने तथा भोलि शनिबार जिल्लास्थित अन्य सरोकारवालासँग भेटघाट गर्ने कार्यक्रम रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुबेर कडायतले बताए । यस घटनाको प्रतिवेदन केही दिनअघि सार्वजनिक भएको थियो । कारागार व्यवस्थापन विभागका महानिर्देशक सह–सचिव हरि मैनालीको नेतृत्वमासमेत पाँच सदस्यीय छानबिन समितिले गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो । घटना विवादस्पद बन्दै गएपछि भदौ ७ गठित सो समितिले असोज ९ गते गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो ।