बाघको सिकार गर्न’ सरकारले केन कोरसो प्रजातिको कुकुर खटायो असोज २५ / भारत महाराष्ट्रस्थित यवतमाला जिल्लाको पाँढरकावडा इलाकामा पछिल्लो समय एक पोथी बाघले जनतालाई निकै दुःख दिइरहेको थियो । त्यस बाघलाई नियन्त्रणमा लिने सबैखाले प्रयास असफल भएपछि अन्ततः बाघलाई तह लगाउन कुकुर प्रयोग गर्ने तयारी भयो । बाघ मार्नकै लागि भनेर अहिले प्रशासनले दुईटा तालिमप्राप्त कुकुर परिचालन गरेको छ । यसअनुसार अब जंगलमा गएर कुकुरले बाघको सिकार गर्नेछ । हिंस्रक जनावर बाघ मार्नका लागि प्रयोग गरिएको कुकुर केन कोरसो प्रजातिको हो । यो निकै बलवान् र शारीरिक रूपमा पनि निकै ठूलो हुन्छ । यस्तो खतरनाक कुकुरको जीउ २५ देखि २८ इन्चको हुन्छ । यसको औसत आयु ९ देखि १२ वर्षसम्म रहन्छ । यसको तौल भने ५० किलोसम्म हुने बताइएको छ । यस्तो शक्तिशाली र बहादुर कुकुर हैदरावादका सार्प सुटर नवाब शफत अली खानले आफ्नै घरमा पालेका हुन् । यो कुकुर परिचालन गर्न सुरक्षा निकाय, वन विभाग सबैसँग छलफल गरिएको थियो । बाघकै सिकार गर्ने यस्तो कुकुर इटालियन प्रजातिको हो । यसलाई इटालियन मास्टिफ नामले पनि चिनिन्छ । इटालीमा भने यस्तो कुकुरलाई सुरक्षा गार्डका रूपमा प्रयोग गर्ने गरिन्छ । यस्तो प्रजातिको कुकुर शारीरिक रूपमा ठूलो, सजिलै तालिम दिन सकिने र आक्रामकखालको हुन्छ । झट्टा हेर्दा यो कुकुर निकै डरलाग्दो देखिन्छ । एजेन्सी