महिलाले नै पुजा गर्ने मन्दिरमा दसैं अवधिभरी महिलालाई नै रोक किन ?

दसैंमा देवी भगवतीलाई विभिन्न रुपमा पूजा गरिन्छ। तर, जनकपुरको ऐतिहासिक र प्रसिद्ध राजदेवी मन्दिरमा भने दसैँभरी महिलालाई मन्दिर प्रवेशमा रोक लगाइन्छ।
घटस्थापना अघिसम्म महिलालाई यस मन्दिरमा पूजा गर्न दिइए पनि त्यसपछि रोक लागाउने गरिएको छ।घटस्थापना हुनु पूर्वसम्म महिलालाई राजदेवी भगवती रहेको ठाउँसम्म गएर पूजा गर्न दिइए पनि घटस्थापना पछि भने मुल मन्दिरमै प्रवेशमा रोक लगाइन्छ। महिला बाहिर रहेको झ्यालबाट नै भगवतीको दर्शन र पूजापाठ गर्न बाध्य हुन्छन्। तर पुरुषलाई भने मन्दिरभित्र पूजापाठ गर्न दिइन्छ।

वर्षौदेखि चल्दै आएको यस परम्परा विरुद्ध कहिलेकाहीँ विरोधका स्वर सुनिए पनि परिवर्तनका लागि कुनै ठोस प्रयास भएको छैन्। अन्य दिन मन्दिरभित्र पसेर राजदेवी माताको बस्ने ठाउँ लिपपोत गर्ने तथा श्रृंगार गर्ने काम महिलाले नै गर्ने गरेपनि दसैंको दश दिन महिलालाई मन्दिरभित्र प्रवेश गर्न नदिनुको पछाडी कुनै ठोस तर्क भने छैन्। तर, वर्षौदेखि यस्तै भइरहेको हुनाले यो परम्परालाई तोड्ने साहस कसैले गर्न नसकेको युवा अभियन्ता सोहन ठाकुरले बताए।

त्रेता युगामा राजा जनकको राजधानीको रुपमा रहेको जनकपुरमा राजदेवी माता जनकको कुलदेवीको रुपमा रहेको धार्मिक ग्रन्थमा उल्लेखित छ। सोही मान्यताअनुरुप स्थापना गरिएको राजदेवी मन्दिरमा पूजापाठ तथा भाकल गर्दा मनोवाण्छित फल पाउने जनविश्वास समेत रहेको छ।

मन्दिर प्रवेश गर्न नपाएपछि महिलाहरु मन्दिरको झ्यालबाटै पूजा गर्न बाध्य छन्। यसप्रति अधिवक्ता रेखा झाले अपत्ति जनाइन्। यस्तो व्यवहारले महिलामाथि विभेद गरेको झाको भनाई छ।

मन्दिरका पुजारी भने दसैं अवधिमा मन्दिरमा तान्त्रिक विधिले पूजापाठ चल्ने भएकाले महिनावारी भएका महिला मन्दिरमा प्रवेश गर्दा अनिस्ट हुने भएकाले प्रवेश गर्न नदिएको बताउँछन्। आजको अन्नपूर्ण पोष्ट दैनिकमा जनकपुरबाट मनिका झाले यो खबर लेखेकी छन्।


प्रतिक्रिया दिनुहोस्