अविवाहित युवतीले माइतमै शिशुलाई जन्म दिए पछि रुँदै भनिन् ( मेरा पति खोजिदिनुस् )

काठमाडौ‌ असोज १७

डेढमहिने शिशु च्यापेर एउटी सुत्केरीलाई टहरामा गुजारा चलाउन कति सकस होला ? बिहान, दिउँसो र बेलुकी खुवाउने पौष्टिक आहार त परको कुरा, उनले बिहानबेलुका हातमुख जोर्न पनि परिवारको रूखो वचन सहनुपर्छ। सुत्केरी आमाले त जसोतसो पुराना कपडा फेरफार गर्दै आएकी छन् तर शिशुका लागि स्वास्थ्य चौकीले दिएको न्यानो झोलाबाहेक अन्य कपडा छैन । गोरखा नगरपालिका ४ की अविवाहिता २० वर्षीया सिर्जना आले भोक न निद्रासँग गुजारा चलाइरहेकी छन्।

उनी अविवाहित हुन्। साउन २४ गते सुत्केरी भएकी उनलाई स्वास्थ्य संस्थामा कसैले लगिदिएन । उनलाई परिवारले छिःछिः र दुरदुर गरिरहन्छन्।

रूखो वचन नलगाई खानेकुरा दिँदैनन् । ‘आजै गइहाल्, भोलि नै गइहाल् भन्छन्’, गहभरि आँसु बनाउँदै उनले भनिन्, ‘म घरमा बस्छे भनेर अहिलेसम्म भूकम्पमा बनाएको नयाँ घर छाएका पनि छैनन् । मैले छाडेर गएपछि छाउने भनेका छन् ।’ उनी घरकी कान्छी छोरी हुन्। कम बोल्ने सुस्त स्वभावकी उनी भीमसेन थापा गाउँपालिका बगुवाका युवकसँग प्रेमसम्बन्ध रहेको बताउँछिन् । गत वर्ष असोजमा उनी ती युवकसँग गएकी थिइन्।

युवकले दाजुको घरमा राखेका थिए । पेटमा बच्चा भएको थाहा पाएपछि युवक सम्पर्कमा नरहेको उनले बताइन् । उनको भनाइअनुसार ती युवक गाडीका सहचालक थिए। अहिले उनी न त आफू ती युवकलाई खोज्न जान सक्छिन् न त परिवारले नै सघाउँछ । उनलाई दिनरात आमाले ‘कसको पेट बोकेकी होस्, गइहाल्’ भन्दै हकार्छिन्।

मंगलबार दिउँसो उनीकहाँ पुग्दा आमा सुशीला आलेले भनिन्, ‘कसको हो भनेर सोध्दा भन्दिन, हामीले थाहा पाउन पाए उसैकहाँ पठाउन हुन्थ्यो, खै र भनेकी रु’ परिवारको चाहना छोरीलाई छिटो घरबाट धपाउन पाए हुन्थ्यो भन्ने छ । तर उनलाई न्याय दिलाउन परिवारको साथ छैन। सुत्केरी भएको दिनदेखि सिर्जना टहरामा छिन् । परिवारका अन्य सदस्यले जे खान्छन्, त्यही खान्छिन् । पाकेका बेला दिन्छन् नभए भोकै । भान्छामा सुत्केरीका लागि भनेर केही भिन्न खानेकुरा पाक्दैन।

अहिले आमा र शिशु दुवै बिरामी छन् । जन्मिएको दुई सातामा आँखा, मुख सुन्निएर गम्भीर बिरामी परेको शिशुलाई अस्पताल लैजान परिवारले सहयोग गरेन । शिशु बोकेर उनी आफैं फिनाम स्वास्थ्य चौकी पुगिन्।

त्यहाँ उपचार नहुने भएपछि उनलाई स्वास्थ्यकर्मीले जनही दुई सय रुपैयाँ उठाएर एक हजार बनाई गोरखा अस्पताल पठाए। परिवारका सदस्यले उनलाई उपचारमा ध्यान नदिएको फिनाम स्वास्थ्य चौकीकी स्वास्थ्यकर्मी लक्ष्मी खनालले बताइन्। न उनलाई आमाबाबुले तागतिलो खानेकुरा ल्याएर खुवाउँछन् न त उनी मागेर खान सक्छिन्।

स्वास्थ्यकर्मी मनीषा श्रेष्ठले भनिन्, ‘न सुत्केरीको शरीरमा तागत छ न शिशुको नै ।’उनी गुन्द्रीमाथि पातलो टालो बिच्छ्याएर सुतेकी छन् । उनीसँग बच्चालाई लगाउन तेल र सेक्न कोइला छैन। उनले भनिन्, ‘यो घरमा बस्न सक्ने अवस्था छैन, म बस्दिनँ, अहिले जान पनि कहीं सक्दिनँ, मेरा लागि न्याय दिने कोही भएन।’ आफ्नो गल्ती महसुस गर्दै हरेक शब्द बोल्दा उनी गहभरि आँसु बगाउँछिन् । उनी भन्छिन्, ‘मेरा पति खोजिदिनुस् जे पर्छ सहेर बस्छु, जान्छु ।’ तर उनले ती युवकको नाम र पूरा ठेगाना बताइनन्।

उनी सुत्केरी भएपछि परिवारका सदस्यले घरैमा थुनेर राखे । गाउँमा हल्ला हुन दिएनन् । बिस्तारै छिमेकीले थाहा पाए । गर्भ रहेको सात महिनापछि मात्रै उनी स्वास्थ्य चौकी पुगेकी थिइन्।

स्वास्थ्यकर्मीले गर्भपतन गर्न नमिल्ने बताएपछि परिवार र उनले कुरा गुपचुप राखे । उनी दिनभर टहरा आसपासमै बस्छिन् । धेरैले थाहा नपाउँदै छोरी शिशु बोकेर गइदिए हुन्थ्यो भन्ने चाहना बाबुआमाको छ । हरेक दिन शिशुसहितको सुत्केरी छोरीलाई घरबाट निकाल्ने योजनामा परिवारका सदस्य रहेको उनले सुनाइन्।

प्रहरी प्रशासन र महिला अधिकारकर्मी यसबारे बेखबर छन् । वडा अध्यक्ष खोपबहादुर अधिकारीले भने, ‘केही दिनअघि घटनाबारे अनौपचारिक सुनेको थिएँ । तर अहिलेसम्म उनीहरूले भनेका थिएनन् । अब म बुझेर ती युवतीलाई न्याय दिलाउन पहल गर्छु।’आजको नागरिक दैनिकमा गोरखाबाट नरहरी सापकोटाले यो खबर लेखेका छन्।


प्रतिक्रिया दिनुहोस्