जताततै बलात्कारः सबैभन्दा धेरै निसानामा बालिका काठमाडौ असोज १६, / चितवनमा ४ दिनमा बलात्कारका ४ घटना सार्वजनिक भएका छन्। बलात्कृत हुनेमा ३ बालिका र एक महिला छन्। ३ वर्षकी बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा भारतको पूर्वी चम्पारण घर भएका युवा आइतबार पक्राउ परे । शनिबार माडीमा मानसिक सन्तुलन ठीक नभएकी एक महिला ४५ वर्षका छिमेकी पुरुषबाट बलात्कृत भइन् । ७ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा भरतपुर–११ पोखरीचोक बस्ने वर्ष १४ का बालक शनिबार पक्राउ परे । १५ वर्षीया चेपाङ बालिका बिहीबार राति घरमै सुतिरहेका वेला बलात्कृत भइन् । प्रहरीले ३ घटनाका आरोपीलाई पक्राउ गरिसकेको छ । एकजना फरार रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी प्रभुप्रसाद ढकालले जानकारी दिए । भारतीय ट्रकमा काम गर्ने वर्ष १९ का जाहिर आलमलाई जिल्ला प्रहरी कार्यालय चितवनले १४ असोजमा गिरफ्तार ग¥यो । भरतपुर महानगरपालिका–२९ जुगेडीमा खाना खाने क्रममा होटेल सञ्चालककी छोरीलाई करणी गरेको भन्दै पीडितका बाबुले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि आलम पक्राउ परेका थिए । माडी नगरपालिका–१ बस्ने मानसिक सन्तुलन ठीक नभएकी ४५ वर्षीया महिला शनिबार बलात्कृत भइन् । महिलालाई नजिकैको जंगलमा लगेर बलात्कार गर्दागर्दै स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए । पीडित महिलाकी छोरीले जाहेरी दिएपछि प्रहरीले परियारलाई पक्राउ गरेको हो। ७ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा भरतपुर–११ पोखरीचोक बस्ने १४ वर्षीय बालक यतिवेला जिल्ला प्रहरी कार्यालय चितवनमा थुनामा छन् । ट्युसन पढ्न जाने क्रममा ती बालकले आफूलाई पटक–पटक यौन दुव्र्यवहार गरेको भन्दै बालिकाले अभिभावकलाई बताएपछि घटना प्रहरीसम्म पुगेको हो । बालिका कक्षा २ र बालक कक्षा १० मा अध्ययनरत छन् । पीडकविरुद्ध बालिकाकी आमाले १३ असोजमा जाहेरी दिएकी हुन् । घरभित्रै १५ वर्षीया बालिका बलात्कृत राप्ती नगरपालिका–१ की १५ वर्षीया बालिका घरभित्रै सुतिरहेका वेला गत बिहीबार बलात्कृत भइन् । भूकम्पले भत्काएपछि बनाउँदै गरेको नयाँ घरमा बाहिर अभिभावक सुतेका थिए भने भित्र बालिका थिइन् । त्यसैक्रममा आफूलाई दुईजना युवाले बलात्कार गरेको बालिकाले बताएकी छिन् । तर, बालिकाले बलात्कारीको पहिचान गर्न नसकेपछि आरोपी पक्राउ पर्न सकेका छैनन् । पीडितकी आमाले गत शुक्रबार चितवन प्रहरीमा जाहेरी दिएकी छिन् । बाबुबाटै १३ वर्षीया छोरी बलात्कृत ओखलढुंगामा १३ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ओखलढुंगाको सुनकोसी गाउँपालिकामा एकजना पक्राउ परेका छन् । गत शुक्रबार बेलुका छोरीलाई जबर्जस्ती करणी गरेर भागेका ३५ वर्षीय ती पुरुषलाई प्रहरीले आइतबार पक्राउ गरेको प्रहरी निरीक्षक नीरञ्जन भट्टराईले जानकारी दिए । १२ वर्षीया बालिका बलात्कृत, आरोपी फरार पर्वतमा मोदी गाउँपालिका–१ भुक देउरालीमा १२ वर्षीया बालिका बलात्कृत भएकी छिन् । बलात्कारको आरोप लागेका भुक देउराली बस्ने २२ वर्षीय सबिन छन्त्याल फरार छन् । उनले गत शनिबार राति आफ्नी छोरीको बलात्कार गरेको भन्दै बालिकाका अभिभावकले प्रहरीमा उजुरी दिएका छन् । असोजयता ३ बालिका बलात्कृत असोज महिना लागेपछि पर्वतमा तीनजना बालिका बलात्कृत भएका छन् । जलजला गाउँपालिकामा १० वर्षीय बालकबाट ७ वर्षीया बालिका बलात्कृत भएकी थिइन् भने कुस्मा नगरपालिका–२ मा २० वर्षीय विनोद नेपालीले १३ वर्षीया बालिकामाथि बलात्कार प्रयास गरेका थिए । आजको नयाँ पत्रिका दैनिकमा यो खबर छापिएको छ।