बेगनास तालमा मेसिन पल्टियो, दुई घाइते लेखनाथ / बेगनास तालमा जलकुम्भी झार फाल्ने क्रममा मेसिन पल्टिँदा दुई जाना घाइते भएका छन् । An aerial view of Begnas Lake near Pokhara of Kaski district, on Friday, March 25, 2016. Photo: RSS बेगनास तालमा जलकुम्भीको प्रकोप बढेपछि पोखरा महानगरपालिकाको सहयोगमा ल्याइएको मेसिन तालबाट जलकुम्भी निकालिरहेको अवस्थामा एक्कासी पल्टिँदा मेसिनमा सवार १० जनामध्ये दुई जना घाइते भएका हुन् । आठजनाको सकुशल उद्धार गरिएको छ । दुर्घटनामा परी घाइते भएका बेगनास युवा क्लबका अध्यक्ष रामबहादुर रानाभाट र डुङ्गा व्यावसायिक समितिका अध्यक्ष सोमराज कँडेलको अहिले लेखनाथ सामुदायिक लायन्स अस्पतालमा उपचार भइरहेको छ । मेसिनमा भार बढी भएकाले दुर्घटना भएको हुनसक्ने उद्धारकर्मी एवं स्थानीय कर्णबहादुर दुराले बताउनुभयो । पोखराको फेवातालमा जलकुम्भी सफा गर्न प्रयोग गरिँदै आएको मेसिन बेगनास तालमा जलकुम्भी फाल्न प्रयोग गर्न ल्याइएको हो । दुर्घटनामा पोखरा ३१ का वडाअध्यक्ष कमलबहादुर थापा, वडा सदस्य विष्णुबहादुर भुजेल, वडा नं ३१ का इञ्जिनियर विमल आचार्य, पत्रकार नवराज सापकोटा, डुङ्गा व्यावसायिक समितिका सदस्य सविन सापकोटा, मत्स्य व्यावसायिक समितिका अध्यक्ष राजेन्द्र जलारी र ज्ञानु जलारी जलकुम्भी फाल्ने मेसिनमा रहे पनि उनीहरुको सकुसल उद्धार गरिएको थियो । रासस