कृषकले व्यावसायिक कफी खेती शुरु

दमौली  / तनहुँको देवघाट गाउँपालिका–३ छिपछिपेका कृषकले व्यावसायिक रूपमा कफीखेती शुरु गरेका छन् । जिल्लाको अतिविकट कछार क्षेत्र मानिने छिपछिपेका कृषकले ५० रोपनी क्षेत्रफलमा कफीखेती शुरु गरेका हुन् ।

यस ठाउँका कृषकले सुन्तलाखेती समेत गर्दै आएका छन् । अन्य खेती नहुने भएपछि यहाँका कृषकले सुन्तलासँगै व्यावसायिक रूपमा कफीखेती शुरु गरेको स्थानीय कृषक मिनबहादुर रानाले जानकारी दिनुभयो । “विसं २०५२÷५३ मा स्थानीय कृषक लिलबहादुर गुरुङले कफीको परीक्षण उत्पादन गर्दा हावापानी उपयुक्त पाएपछि अहिले आएर उहाँको सिको यहाँका कृषकले गरेका हुन्”, रानाले भन्नुभयो ।त्यसयता उत्पादन गरेको कफीले बजार नपाएका कारण कफीखेतीमा कमी आए पनि विसं २०७१÷७२ देखि भने कफीको राम्रो माग रहेको उहाँले बताउनुभयो ।

यस ठाउँका २७ कृषकले कफीखेती शुरु गरेका छन् । बालकेश आधारभूत विद्यालयमा प्रधानाध्यापकसमेत रहनुभएका कफी कृषक आशकुमार गुरुङले आर्थिक रूपमा सवल बन्न कफीखेती शुरु गरिएको बताउनुभयो । “शिक्षण पेशा छाडेपछि पूर्णरूपमा यही खेतीमा आबद्ध हुनेछु”, उहाँले भन्नुभयो, “छिपछिपेलाई कफी र सुन्तलाको पकेटक्षेत्र बनाउने सोच छ ।”
समूहका अध्यक्ष तुलबहादुर गुरुङले छिपछिपेमा ५० रोपनी क्षेत्रफलमा कफीखेती भइरहेको बताउनुभयो । उहाँका अनुसार छिपछिपेबाट गत आवमा ६ क्विन्टल कफी बिक्री भएको थियो । प्रतिकिलो रु ५०० का दरले कफी बिक्री भएको उहाँले जानकारी दिनुभयो ।

कृषकले उत्पादन गरेको कफी तनहुँ कफी व्यवसायी सङ्घलाई बिक्री गर्ने व्यवस्था मिलाइएको छ । यहाँ उत्पादित कफी अमेरिका, जापान, जर्मनलगायतका युरोपियन देशमा निर्यात हुने गरेको छ । अर्गानिक पद्धतिबाट गरिएको कफीको विदेशमा राम्रो माग रहेको छ । मङ्सिरदेखि फागुनसम्म कफी टिप्न शुरु गरिने र वैशाख जेठमा बिक्री हुने गर्दछ । रासस


प्रतिक्रिया दिनुहोस्