टेक्सासमा प्रकोप घोषणा

हाउसटन, संयुक्त राज्य अमेरिका / संयुक्त राज्य अमेरिकी राज्य टेक्सासमा पनि प्रकोपको घोषणा गरिएको छ । उक्त राज्यमा अविरल वर्षा र यसका कारण व्यापक मात्रामा बाढी आएको छ । यसले गर्दा यहाँका दर्जनौँ जिल्ला (काउन्टी) मा प्रभाव पारेको छ । यस राज्यका गभर्नर जर्ज अबोटले राज्यका ७८ काउन्टीमा प्रकोप रहेको भन्दै ती राज्यलाई प्रकोप प्रभावित घोषणा गर्नुभएको छ । ती राज्यमा आँधीको पनि सम्भावना रहेको बताइएको छ । त्यसैले सतर्कता अपनाउन भनिएको छ । गभर्नर अबोटले ती प्रभावित काउन्टीहरुमा सहायताका लागि अधिकारीहरु खटाउने तयारी गरिएको बताउनुभएको छ ।

अहिले नै निकै नै ठूलो संख्यामा नागरिक प्रभावित भएका र ती क्षेत्रहरुमा अझ आँधी आउने सम्भावना देखिएकोले प्रकोप प्रभावित क्षेत्र घोषणा गरिएको उहाँले बताउनुभयो ।
आँधीको सम्भावना रहेका क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन पनि सार्वजनिक सूचना जारी गरिएको छ । ती क्षेत्रका नागरिकलाई सतर्कतासाथ बस्न भनिएको छ । अमेरिकाका अरु पनि केही राज्यमा आँधीको सम्भावना रहेको सूचना शुक्रबार नै जारी गरिएको थियो । गत वर्षको अगष्तमा पनि यस राज्यमा आएको आँधीले ठूलो क्षति पु¥याएको थियो । अहिले पनि शुक्रबार र शनिबार आँधीको पनि सम्भावना रहेको मौसमसम्बन्धी अधिकारीहरुले जनाएका छन् ।

टेक्सासमा गत वर्ष आएको आँधी ५० वर्षयताकै सबैभन्दा शक्तिशाली आएको बताइएको थियो । यसवर्ष पनि ती स्थानमा यस्तै आँधीको त्रास रहेको बताइएको छ । अमेरिको पूर्वी सामुद्रिक तटमा आएको ‘फ्लोरेन्स’ नामको यस शक्तिशाली समुद्री आँधीका कारण कम्तीमा चार जनाको मृत्यु भइसकेको छ । कतिपय संचार माध्यमहरुले भने मृत्यु हुनेहरुको संख्या चार भन्दा बढी भएको समाचार संप्रेषण गरेका छन् । तर यसको पुष्टि भने भएको छैन् । नर्थ क्यारोिलनाको विलमिङटनस्थित घरमा एउटा रुख ढल्दा एउटी आमा र उनका एकजना बच्चाको मृत्यु भएको छ । ती बच्चाका बुवा भने घाइते भएका र उपचारका लागि अस्पताल पुयाइएको अधिकारीहरुले जनाएका छन् ।

अन्य दुई जनाको पनि अर्कै ठाउँमा मृत्यु भएको सरकारी अधिकारीहरुले पुष्टि गरेका समाचारमा जनाइएको छ । नर्थ क्यारोलिनाका गभर्नर रोए कुपरले शुक्रवार साँझ आयोजित पत्रकार सम्मेलनमा अरु पनि कयौंको मृत्युको खबरहरु आइरहे पनि पुष्टि हुन भने बाँकी रहेको जानकारी दिनुभयो । घटनास्थलमा खटिएका स्वास्थ्यकर्मी तथा उद्धारकर्ताहरुले मृत्यु आँधीकै कारणले भएको हो कि होइन भनी परीक्षण गरिरहेको पनि उहाँले बताउनुभयो ।

मौसम अधिकारीहरुले हावाको वेग ११० किलोमिटर प्रतिघण्टा रहेको बताएका छन् । उनीहरुका अनुसार कतिपय ठाउँमा ठूलो वर्षासमेत भइरहेको छ। आँधीका कारण जनजीवन नराम्ररी प्रभावित भएको छ भने १७ लाखभन्दा धेरै मानिसहरूलाई आफ्नो ठाउँ छोडेर अन्यत्र जान स्थानीय सरकारले आह्वान गरेको छ । विस्थापित भएकाहरुका लागि १५७ ओटा आश्रयस्थलहरु बनाइएको छ । आँधी आएपछि सात लाख ६० हजार भन्दा बढी मानिसहरू विद्युत सेवाबाट बञ्चित भएको र सेवा सुचारु हुन केही दिन लाग्न सक्ने सरकारी अधिकारीहरुको भनाई छ । रासस/एपी/एएफपी


प्रतिक्रिया दिनुहोस्