निर्मला हत्या प्रकरण : अनुसन्धानमा संलग्न प्रहरीमाथि गृह मन्त्रालयले नै छानविन गर्ने प्रकाशित मिति : 12 September, 2018 7:52 am काठमाडौं भदौ २७, निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीद्धारा अभियुक्त बनाइएका दिलीपसिंह विष्ट रिहा भएपछि अनुसन्धानमा संलग्न सबै प्रहरी अधिकृतमाथि छानविन हुने भएको छ । मंगलबार राति गृह मन्त्रालयमा बसेको आकस्मिक बैठकले घटना अनुसन्धानमा संलग्न सबै प्रहरी अधिकृतमाथि छानविन गर्ने निर्णय गरेको हो । गृह मन्त्रालयको ठहर गर्दै उनीहरुमाथि छानविन गर्ने निर्णय भएको मन्त्रालय श्रोतले बतायो । सिआईबी अनुसन्धानमाथि नै प्रश्न ? निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा अनुसन्धान गर्न खटिएको नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सिआईबी टोलीमाथि गम्भीर प्रश्नचिह्न उठेको छ । टोलीको सहयोगमा कञ्चनपुर प्रहरीले निर्मला हत्याको आरोपमा ४१ बर्षीय दिलीपसिंह विष्टलाई पक्राउ गरेको थियो । दिलीपको डिएनए परीक्षण रिपोर्ट नमिलेपछि सिआइबीको अनुसन्धान टोलीमाथि प्रश्न उठेको हो । विशेष दक्षता भएका र अनुसन्धानमा पोख्त प्रहरी अधिकृत रहने सिआईबीको अुसन्धानलाई विश्वसनीय मानिँदै आएको थियो ।, आजकोनागरिक दैनिकमा यो खबर छ ।