नापीको नक्सामै लिम्पियाधुरा गायब,कालापानी क्षेत्रमा यसरी गायब हुँदैछ नेपालको ३ सय १० वर्ग किमी जमिन ,

काठमाडौ‌ भदौ २४,
कालापानी क्षेत्र गायव पारिएको नक्कली नक्सा सरकारले प्रयोग गर्दै आएको नापी विभागले देखाएको छ। तर, विभागकै आधिकारिक नक्सामा वर्षौंदेखि लिम्पियाधुरा छुटिरहेको पाइएको छ । यसले नेपालको आकारलाई करिब ३ सय १० वर्ग किलोमिटर खुम्च्याएको छ।

भारतले नै बनाएका पुराना नक्सामा पनि लिम्पियाधुरा नेपाली भूमि रहेको प्रस्ट देखिन्छ । उक्त इलाका भारतले ओगट्ने क्रम बढेपछि नेपालले छोड्दै गएको पाइन्छ । नेपालको पूर्व–पश्चिम सिमाना मेची–महाकाली नदी हुन् । सुगौली सन्धिमा पनि त्यही छ । तर, पश्चिममा महाकाली वारिको ठूलो भू–भागमा भारतको हस्तक्षेप नेपाली अधिकारीहरूले रोक्न सकेका छैनन्।

नापी विभागका पूर्वमहानिर्देशक बुद्धिनारायण श्रेष्ठले आधिकारिक नक्सामा लिम्पियाधुरा छुटेको पुष्टि गरे । यो उनले विभागको नेतृत्व गर्नुभन्दा पहिल्यैको घटना हो। ‘नक्सा बनाउँदा तत्कालीन दरबार र शाही नेपाली सेनाको तत्कालीन जंगी अड्डाले लिम्पियाधुरा नराख्न आदेश दिएका थिए’, उनले भने, ‘त्यही कारण विभागको कित्ता नापी कालापानी र लिपुलेकभन्दा पर गएन।’

लिम्पियाधुरा कालापानी–लिपुलेकभन्दा ३० किलोमिटर पश्चिमको भूभाग हो । लिम्पियाधुरा इलाका सरक्क छाडिदिएको नेपाल सरकारले यतिबेला कालापानी–लिपुलेक क्षेत्रसमेत छाडेर बनाएको नक्सा प्रयोगमा ल्याइरहेको छ । उक्त भूमि पनि भारतले कब्जामा लिइरहेको छ। नापी एवं सीमाविज्ञ श्रेष्ठले लिपुलेक छुट्दा ३ सय १० वर्गकिलोमिटर जमिन गुमाउनु परेको बताए । ‘कित्ता नापीमा कालापानी र लिपुलेक नेपालतिर नै छ। तर लिम्पियाधुरा भने जानी–जानी छुटाइएको छ,’ उनले भने, ‘नापीले राख्ने की भनेर राय लिएको थियो । तर, तत्कालीन दरबार र शाही सेनाद्वारा नराख्न दबाब आएपछि लिम्पियाधुरा नराखेको हो।’

उनले त्यसमा तत्कालीन दरबार र सेनाको विशेष ‘इन्ट्रेस्ट’ रहेको बताए।नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले पनि लिपुलेकलाई नै आधार मानेर नक्सा बनाइएको स्वीकार गरे। आजको अन्नपूर्ण पोष्ट दैनिकमा यो खबर सुरेन्द्र काफ्लेले लेखेका छन्।


प्रतिक्रिया दिनुहोस्