साफ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग पराजित प्रकाशित मिति : 4 September, 2018 7:52 pm काठमाडौँ / बंगलादेशमा भएको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा पाकिस्तानसँग आज भएको पहिलो खेलमा नेपाल २–१ ले पराजित भएको छ । नेपाल पहिलो हाफमा १–० ले पछि परेको थियो । नेपाली टोलीका कप्तान विराज महर्जनले विपक्षी खेलाडीलाई डि-बक्समा फउल गरेपछि पाएको पेनाल्टीमा गोल गर्दै पाकिस्तानले अग्रता लिएको थियो । नेपालका लागि खेलको ८२औं मिनेटमा फरवार्ड विमल घर्तीमगरले आकर्षक गोल गर्दै खेल बराबरी बनाएका थिए । थपिएको ५ मिनेटको अन्तिम समयमा नेपालको कमजोर रक्षापंक्तिको फाइदा उठाउँदै पाकिस्तानी खेलाडीले फ्री हेडिङबाट गोल गरेका थिए । पहिलो खेल हारेपछि नेपालको उपाधि सपनामा धक्का लागेको छ । नेपालले अब अर्को खेल बिहीबार भुटानसँग खेल्दैछ ।