कञ्चनपुरमा फेरि १६ वर्षीया किशोरीको सामूहिक बलात्कार प्रकाशित मिति : 1 September, 2018 7:28 am काठमाडौ भदौ १६, / १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटना सेलाउन नपाउँदै कञ्चनपुरमै अर्की १६ वर्षीया किशोरी सामूहिक बलात्कारमा परेकी छिन् । बेलडाँडी गाउँपालिकाकी किशोरीको बिहीबार राति बलात्कार भएको छ । चिनजानकै एक युवकले फोन गरेर उनलाई घरनजिकैको सडकमा बोलाएका थिए । त्यहाँ दुई मोटरसाइकलमा चार युवक थिए । उनीहरूले किशोरीलाई मोटरसाइकलमा राखेर नजिकैको जबदिया गाउँ लगेर बलात्कार गरेको इलाका प्रहरी कार्यालय बेलडाँडीका इन्स्पेक्टर सुरेन्द्रबहादुर बमले बताए । युवकले फोन गरेर बोलाउँदा किशोरीको घरमा पूजा चलिरहेको थियो । फोन आएपछि छोरी दौडिँदै सडकतिर गएको उनका बाबुले प्रहरीलाई बयान दिएका छन् । बलात्कारमा संलग्नमध्ये दुई युवकलाई किशोरीले चिनेको बताएकी छिन् । फरार चारैजनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । पीडित परिवार र स्थानीयले मध्यरातमा घरबाटै अपहरण शैलीमा लगेर बलात्कार गर्नेलाई कारबाहीको माग गरेका छन् । घटनाबारे बुझ्न जिल्ला प्रहरी प्रमुख एसपी कुवेर कडायत पनि शुक्रबार घटनास्थल पुगेका थिए । किशोरीका बुवा भन्छन्– राति करिब साढे १२ बजेतिर सत्यनारायणको कथा सकेर हामीले खाना खाइसकेका थियौँ । घर र छरछिमेकका स–साना नानीहरू बुफर लगाएर आँगनमा नाच्दै थिए । छोरीको मोबाइलमा एक्कासि फोन आयो । उनी फोन उठाउँदै सडकतिर गएको केटाकेटीले पनि देखेका रहेछन् । केटाकेटीले मोटरसाइकलमा राखेर लगेको बताएपछि हामी एकैछिनमा त्यतातिर लाग्यौँ । मेरो घरभन्दा झन्डै एक किलोमिटर पर सडकको छेउमै बलात्कार गरेर भागेछन् । छोरीले दुई केटाहरूलाई चिनेकी रहिछ । विवाह गर्छु भन्दै बोलाएको रहेछ । तर, इज्जत लुट्यो । आजको नयाँ पत्रिका दैनिकमा कञ्चनपुरबाट मोहन विष्टले यो खबर लेखेका छन्।