निर्मला हत्याकाण्ड : प्रहरीको चासो किन असामान्य व्यक्तिमा

काठमाडौ‌ भदौ ११ / कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याको अनुसन्धानमा प्रहरी सुरुदेखि नै सामाजिक प्रतिष्ठा र मानसिक सन्तुलन गुमाएका व्यक्तिहरूको पछि लागेको छ। प्रहरीले भनेजस्तै भोलि दिलीपसिंह विष्ट नै दोषी ठहरिन सक्छन्, तर यसअघि पनि प्रहरीले यस्तै दुईजनालाई नियन्त्रणमा लिएको थियो।

घटनाको तेस्रो दिन अर्थात् १३ साउनमा डिएसपी अंगुर जिसीको नेतृत्वमा काठमाडौंबाट केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली पुगेको थियो। त्यसअघि नै ११ साउनमा कैलालीका जीवन घर्तीमगर र कञ्चनपुरका दीपक नेगी पक्राउ परेका थिए। डिएसपी जिसीका अनुसार दीपक गम्भीर प्रकृतिका यौनरोगी थिए भने जीवनको मानसिक सन्तुलन असामान्य थियो । जीवनले त निर्मलाको हत्या आफूले नै गरेको दाबी गरेका थिए।

उनले प्रहरीलाई बयान दिएका थिए, ‘मैले खुकुरीले हानेर निर्मलाको हत्या गरेको हुँ।’ जब कि पोस्टमार्टम प्रतिवेदनअनुसार निर्मलाको हत्या घाँटी निमोठेर भएको थियो । तर, यस्तो फितलो अनुुसन्धानका आधारमा गृहमन्त्री रामबहादुर थापा बादलले १७ साउनमा संसद्मा बोले, ‘बलात्कार र हत्यामा संलग्न दुईजनालाई पक्राउ गरिएको छ । पीडितलाई न्याय दिलाउन सरकारले कुनै कसर बाँकी राख्नेछैन ।’ तर, गृहमन्त्रीले संसद्मा बोल्दा–नबोल्दै जीवन र दीपक हिरासतबाट छुटिसकेका थिए।

घटनाका २५ दिनपछि ४ भदौमा प्रहरीले भीमदत्त नगरपालिका–१९ का ४२ वर्षे दिलीपसिंह विष्टलाई आरोपीका रूपमा सार्वजनिक ग¥यो । तर, यी विष्ट पनि मानसिक अवस्था असामान्य भएका परे। आफ्नै भिनाजु हत्याको अभियोगमा उनी ०६५ मा जेल परेका थिए र गत वर्ष गणतन्त्र दिवसका तत्कालीन प्रजिअको सिफारिसमा राष्ट्रपतिबाट कैद मिनाहा भएर जेलबाट छुटेका थिए।

प्रहरीले विष्ट नै दोषी भएको दाबी गरिरहेको छ भने स्थानीयले अस्वीकार गर्दै आन्दोलन चर्काए। दिलीपका पिता आइतबार निर्मलाको परिवारलाई भेट्न पुगे । ‘उनले रुँदै मेरो छोराको कुनै गल्ती छैन भने । हामीलाई पनि घटनामा ऊ संलग्न छ भन्नेमा विश्वास छैन,’ निर्मलाका पिता यज्ञराज पन्तले भने। ८२ वर्षे कमलसिंह विष्टका अनुसार ८ कक्षामा पढ्दा नै दिलीप गाँजा–चरेसको लतमा परेका थिए । छिमेकी कर्ण विष्ट त यसपटक मात्र होइन, अघिल्लोपटक भिनाजुको हत्यामा पनि दिलीप परिबन्दमा परेको हुन सक्ने अनुमान गर्छन्।

हरेक समय गाँजा, चरेस र रक्सीको नसामा हुन्थे दिलीप । बाटोमा मोटर, मोटरसाइकल र साइकल देखे परैदेखि छेउ लागेर उभिन्थे । पिता कमलसिंहका अनुसार दिलीपलाई पक्राउ गर्नु अघिल्लो दिन ३ भदौमा नासपाती किन्ने बहानामा प्रहरीका दुईजना सुराकी घरमा आएका थिए। जग्गा खोज्दै हिँडेको पनि भन्दै थिए । अनि घरपछाडि सुकाउन राखिएको दिलीपको सर्टको केही भाग च्यातेर लगेका थिए । दिलीपलाई पक्राउ गरेपछि ४ भदौमा प्रहरी फेरि घटनास्थल पुग्यो । त्यहाँ दिलीपको सर्टको कपडाको टुक्रा र कन्डम फेला परेको थियो । ‘यसबीच धेरै पानी प¥यो, खोलामा बाढी आयो।

तर, सर्टको टुक्रा र कन्डममा कुनै हिलोमैलो थिएन,’ निर्मलाका पिता यज्ञराज भन्छन्। सिआइबीका डिएसपी जिसी भने दिलीपको यौन आसक्ति उत्कर्षमा रहेको कुरा बयानका क्रममा पाएको बताउँछन्। ‘अलि असामान्य देखिन्छन्, तर उनको बयान असामान्य छैन । र जतिपटक सोध्दा पनि नबिराई उही कुरा दोहो¥याउँछन् । फरेन्सिक र डिएनए स्याम्पल परीक्षणको अन्तिम नतिजा आएपछि धेरै कुरा स्पष्ट होला। तर, अहिलेसम्मको घटनाक्रम हेर्दा उनी घटनाको केन्द्रमा छन् । बाहिर उनीबारे जे टिप्पणी भए पनि कम उमेरकासँग यौनसम्पर्क गर्न आफूलाई रुचि भएको उनले बयानमा बताएका छन्,’ उनले भने । दिलीप अविवाहित हुन्।

सरकारले सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा बेग्लै उच्चस्तरीय छानबिन समिति पनि गठन गरेको छ । स्थानीयको आशंकाको केन्द्रमा रहेका रोशनी र बबितालाई पनि प्रहरीले हिरासतमा लिएको छ। बम दिदीबहिनीका पिता दीपेन्द्रबहादुर बम जनविकास माविका शिक्षक र आमा दुहुँ गाउँपालिका–३ को सचिवका रूपमा दार्चुलामै बस्दै आएका छन् । दुवैले आफ्ना छोरीहरूलाई जबर्जस्ती फसाउन खोजेको बताइरहेका छन्।

‘भोलि हाम्रा छोरीमाथि अर्को दुर्घटना भयो भने को जिम्मेवार हुन्छरु भिडको दबाबमा हाम्रा निर्दोष छोरीहरूलाई गिरफ्तार गरिएको छ,’ उनीहरूको गुनासो छ। छोरी खोज्न जाँदा घरभित्रै पस्न नदिएका कारण पनि पन्त परिवारको आशंका बबितामाथि बढी छ। ‘पहिलेका एसपी डिल्लीराज विष्टले कहिले बाहिरै सामूहिक बलात्कार गरेर त्यहाँ लगेर फालिएको हो भने त कहिले त्यहीँ एकजनाले बलात्कार गरेको हो भने,’ निर्मलाका पिता यज्ञराज भन्छन्, ‘अनि मलाई दिलीप नै मुख्य अपराधी हो, किटानी जाहेरी देऊ भनेर दबाब पनि दिए। प्रहरीको भूमिका जहिल्यै शंकास्पद रह्यो।’

बबिताकै घरमा घटना भएर निर्मलालाई पछि बाहिर लगेर फ्याँकिएको पन्त परिवारको आशंका छ। तर, घरअगाडिकै छिमेकी देवकी भट्टका अनुसार उनी १० साउनको साँझ ७ बजेतिर बबिताको घरमा पुगेकी थिइन् । अम्बा खान गएकी उनकी नाबालक छोरी रोशनीसँग टिभी हेर्दै नाच्दै बसेकी थिइन् । उनी पुगेको केहीबेरमा बबिता पनि आइपुगिन्।

निर्मलाको शवको छेउ केही अम्बा पनि फेला परेको थियो, जुन बबिताको घरको थियो । पछि बम परिवारले अम्बाको बोटै काटिदियो । यसकारण पनि उनीहरूप्रति पीडित परिवार र स्थानीयको आशंका छ। आजको नयाँ पत्रिका दैनिकमा यो खबर प्रकाशित गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्