रिबन काट्दै र भाषण गर्दैमा बित्छ ,मन्त्रीहरुको दिन

काठमाडौं भदौ ४, / नेपाली जनताले लामो समयदेखि एउटै पार्टीको बहुमतको सरकारको चाहना राख्दै आएका थिए। तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि त्यो चाहना पूरा पनि भयो । त्यति मात्र होइन, उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम पनि सरकारमा गएपछि मुलुकले दुईतिहाई बहुमत नै प्राप्त सरकार पायो।

तर जुन जोगी आए पनि कानै चिरेका भनेको जस्तो संघीय संरचनाका मन्त्रीहरूका अहिलेसम्मको दिन विगतका सरकारको पालामा जस्तै औपचारितामा बित्यो, बितिरहेछ। उनीहरूको दिनचर्या उद्घाटन, पार्टीका कार्यक्रमको भाषण, सभा–समारोहमा अतिथि आसन ग्रहण, शिलान्यास, पुस्तक बिमोचनमै बित्यो । नीति निर्माण तहमा पर्याप्त ध्यान नदिँदा छ महिना बितिसक्दासम्म परिणाम भने हात लाग्यो शून्य छ।

चीनमा प्रधानमन्त्री वर्षमा एक दुई पटक मात्र सार्वजनिक कार्यक्रममा देखिन्छन् तर हाम्रा मन्त्रीहरुलाई दिनहुँ दर्जनौँ कार्यक्रममा जानुपर्छ। मन्त्रीको मुख्य काम राष्ट्रिय नीति निर्माण गर्ने, राष्ट्रिय रुपमा देखिएका समस्याको समाधानका लागि नीतिगत उपाय खोज्ने, नीतिनियम प्रभावकारी भए नभएको अनुगमन र मूल्याकंन गर्ने हो।

तर उनीहरूको व्यस्तताका कारण समयमा नै निर्माण हुनुपर्ने नीतिनिर्माण समेत प्रभावित हुन पुगेको छ । सरकारको कार्यशैली परम्परागत नै छ, कुनै प्रभावकारिता देखिएको छैन। आजको समाचार पत्र दैनिकमा यो खबर छापिएको छ।


प्रतिक्रिया दिनुहोस्