चार वर्षपछि ओलीको मधेश यात्रा : यस्तो छ स्वागत र विरोधको तयारी प्रकाशित मिति : 18 August, 2018 7:52 am काठमाडौ भदौ २ / झन्डै चार वर्षदेखि ‘कोर मधेसी’ क्षेत्रमा राजनीतिक भ्रमण गर्न नसकेका प्रधानमन्त्री केपी ओली शनिबार प्रदेश २ सभा बैठकलाई सम्बोधन गर्न जनकपुर ओर्लंदै छन्। संविधान जारी गर्नु अघिदेखि नै प्रदेश सीमांकनको विषयमा मधेसी दलले राखेका तत्कालीन अडानमा विमति राखेपछि ओलीको मधेसमा विरोध भएको थियो । स्थानीय आक्रोश बढेपछि उनका लागि मधेस यात्रा असहज बनेको थियो । गत वैशाखमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा केही घण्टा जनकपुर पुगेबाहेक उनले प्रदेश २ का जिल्लामा चार वर्षयता पार्टी र राजकीय काम गर्न सकेका छैनन् । २०७३ फागुनमा पार्टीको मेची–महाकाली अभियान लिएर सप्तरी पुग्दा ओलीलाई अवरोध भएको थियो। राजविराजमा ओलीलाई उत्रिने नदिने भन्दै मधेसकेन्द्रित पार्टीले विरोध गरेपछि त्यहाँ झडपको स्थिति उत्पन्न भएको थियो । त्यसपछि सप्तरीबाटै फर्केका ओली तीनवटै तहका चुनावमा मुलुकभर चुनावी दौडाहामा निस्कँदा पनि प्रदेश २ मा भने गएनन् । चार वर्ष अवधिमा उनी दुईपटक प्रधानमन्त्री भइसकेका छन् । चुनावी अभियानमा समेत नगएका ओलीको प्रधानमन्त्रीको हैसियतमा हुन लागेको यो भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । ओलीको जनकपुर आगमनलाई लिएर स्थानीय राजनीतिक माहोल अझै विभाजित छ । यद्यपि ओलीको आगमनै रोक्ने खालको अवस्था भने छैन। ओलीको आगमनबाट संघीय सरकारका सहयात्री दल नेकपा र संघीय समाजवादी फोरम खुसी छन् । उनीहरूले ओलीको शनिबार हुने आगमनलाई विगतमा फाटेको मनलाई जोड्ने र राजनीतिक सम्बन्धहरूलाई सुधार्ने कडीका रूपमा अथ्र्याएका छन् । ओली अनुदार भएकैले संविधानमा मधेसको मुद्दा सम्बोधन हुन नसकेको आरोप लगाउने राष्ट्रिय जनता पार्टी आबद्ध एउटा राजनीतिक तप्काले भने आगमनलाई औचित्यहीन ठानेको छ । प्रदेशसभा सदस्य उपेन्द्र महतोले प्रधानमन्त्रीको प्रदेशसभामा हुने सम्बोधनलाई बहिष्कार गर्ने बताए । अर्का सदस्य मनीष सुमनले प्रधानमन्त्री ओलीले प्रदेशसभामा सम्बोधन गर्दा मधेसी जनतासँग क्षमायाचना गर्नुपर्ने बताउँछन् । ‘सामान्य परिस्थितिमा संघीय कार्यकारी प्रमुख प्रधानमन्त्री केपी ओलीद्वारा प्रदेशसभालाई सम्बोधन सर्वथा बेतुकको कुरा हो,’ राजपाका नेता डा। विजयकुमार सिंहले फेसबुकमा लेखेका छन्। नेकपाका नेता तथा कार्यकर्ताहरूले प्रधानमन्त्री केपी ओलीको जनकपुर भ्रमणलाई भव्य बनाउने तयारीमा जुटेका छन्। प्रधानमन्त्री ओलीसँगै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसमेत शनिबार जनकपुर आउँदै छन् । प्रदेशसभामा सम्बोधनपछि ओली र दाहाल पूर्वी धनुषाको बरमझियामा आयोजना हुने माओवादी युद्धकालमा मारिएका नेता रामवृक्ष यादवको स्मृतिसभामा सहभागी हुनेछन् । माओवादी नेता यादवलाई २०५१ भदौ २ मा उनको गाउँ बरमझिया नजिकै हत्या गरिएको थियो।आजको कान्तिपुर दैनिकमा यो खबर छापिएको छ ।