स्थानीय तहमा १४३४ स्वास्थ्यको दरबन्दी थप्ने तयारी प्रकाशित मिति : 16 August, 2018 7:45 am काठमाडौं / स्थानीय तहमा स्वास्थ्यका प्राविधिक कर्मचारी नहुँदा समस्या देखिएपछि सरकारले दरबन्दी थप्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका स्थानीय तहमा १४ सय ३४ प्राविधिक कर्मचारीको दरबन्दी थप्ने तयारी गरेको हो । स्वास्थ्य क्षेत्रका कर्मचारी नहुँदा औषधिको खरिददेखि खोप सञ्चालन कार्यक्रम तर्जुमामा समेत समस्या देखिएको थियो । मन्त्रालयका प्रवक्ता मोहम्मद दाउदका अनुसार १४ सय ३४ कर्मचारीको दरबन्दी थप्ने फाइल मन्त्रिपरिषद्मा पुगेको छ । मन्त्रालयले जनसंख्याका आधारमा कर्मचारीको दरबन्दी मिलाएको छ । कम्तीमा २५ हजारभन्दा कम जनसंख्या भएको स्थानीय तहमा एकजना स्वास्थ्यकर्मीको प्रस्ताव गरिएको छ । २५ हजारभन्दा बढी जनसंख्या भएकामा दुईजना, ५० हजारदेखि एक लाखसम्म जनसंख्या भएको तहमा तीनजना र सोभन्दा बढी जनसंख्या भएका तहमा चारजना स्वास्थ्यकर्मी राख्ने तयारी छ । आजको नयाँ पत्रिका दैनिकमा यो खबर छापिएको छ ।