शैक्षिक संस्थामा गराइएको आत्मघाती हमलामा २५ जना मारिए प्रकाशित मिति : 15 August, 2018 9:39 pm अफगानिस्तान,काबुल, ३० साउन / अफगानिस्तानको काबुल नजिकको शिते समुदाय बसोबास गर्ने दस्त–ए–बार्चीमा बुधबार अपराह्न शैक्षिक संस्थामा गराइएको आत्मघाती बम विस्फोटमा मारिनेको संख्या २५ जना पुगेको छ भने ३६ जना घाइते भएका छन् । “पैदल हिँडेर आएका आत्मघाती बम हमलाकारीले विस्फोट गराएको पुष्टी भएको छ । शैक्षिक संस्थाको भित्र छिरेर उनी आफैंलाई उडाएका थिए,” प्रहरी प्रवक्ता हसमत स्टानीक्जाईले बताउनुभयो । गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयले आक्रमणबाट कम्तीमा २५ जना मारिएका र अरु ३५ जना घाइते भएको जनाएका छन् । आक्रमणको तत्कालै कसैले जिम्मेवारी लिएको छैन । तालिबानले आफूले आक्रमण नगरेको जनाएको छ । हालैका दिनहरुमा अफगानिस्तानमा भिषण हिंसात्मक घटनाहरु भइरहेका छन् । यही साता अफगानिस्तानको पूर्वमा रहेको घज्नीमा तालिबानले गरेको भिषण आक्रमणबाट काबुल सरकारमाथि सैनिक र मनोवैज्ञानिक दबाब सिर्जना भएको छ । तालिबानले आफूले चाहेको समय र इच्छाबमोजिम काबुल वरपरका कुनै पनि ठाउँमा आक्रमण गर्न सक्दछ । एएफपी