समृद्धि कसका लागि ?

टेकु ओली,

स्थायी सरकार, तीव्र विकास र समृद्ध नेपालको सपनासहित वाम गठबन्धन निर्वाचनमा होमियो । निर्वाचनबाट प्राप्त जनताको व्यापक समर्थनले सरकार समेत निर्माण गरिसक्यो । उक्त निर्वाचनमा युवाहरूको प्रयोग व्यापक भएको थियो । कति वैचारिक चेत र बेरोजगारीका कारण नेताका लगौटी हुन कतिपय बाध्य भएका थिए । युवाहरूको प्रयोगमा जो जुनसुकै उद्देश्यमा प्रयोग भए पनि वाम गठवन्धन अग्र भागमै थियो । युवा त्यसरीपछि लाग्नुमा वर्तमान प्रधानमन्त्रीसँग उच्च महात्वाकाङ्क्षा थियो । युवाहरूसँग केही आशा, केही अपेक्षा, केही विश्वास, केही सपना छन् । प्रधानमन्त्रीको आत्मविश्वासले युवाहरूका ती मुर्झाएका सपनाहरू जुर्मुराएका छन् । अझै पनि प्रधानमन्त्रीले भन्ने गरेको समृद्धिको लक्षित वर्ग स्पष्ट रूपमा किटान गरिएको छैन । तीव्र गतिको रेल, स्मार्ट सिटी सम्झिँदा समृद्धि सहरका सम्भ्रान्त वर्ग लक्षित हो कि भन्ने भान हुन्छ । अब ती बेरोजगार युवाहरूको भविष्य के हुन्छ रु सचेत युवाहरूले प्रश्न गर्ने र प्रधानमन्त्रीले व्यावहारिक तरिकाले उत्तर दिने बेला आएको छ । यदि समृद्धि ती दूरदराजका गरिब युवाहरूका लागि पनि हो भने सरकारसँग युवाहरूका केही अपेक्षाहरू छन् । प्रस्तुत गर्न चाहन्छु ।
रोजगारी सिर्जना
समुन्द्रमा पानी जहाज, तीव्र गतिको रेल, विद्युतीय गतिमा वृद्धि हुने आर्थिक विकासका सपना दीर्घकालका लागि सम्भाव्य र उचित भए पनि देशभित्रै श्रमको मूल्यसहितको रोजगारी आम नेपाली युवाहरूको पहिलो शर्त हो । विदेशिएका पचास लाख युवाहरूको आवश्यकता हो । पढ्दै गरेका लाखौँ किशोरहरूको सपना हो । कुनै पनि नेपालीको पहिलो रोजाइ परिवार निकट रहेर कामको अवसर प्राप्त गर्नु हो । परिवारदेखि टाढा रही मानसिक रूपमा विक्षिप्त भएर खाडीको तातो मरुभूमिमा काम गर्नु कसैको रहर हुँदैन । अर्काको देशमा रगत बगाउने युवाहरू नेपालमा पसिना बगाउन तयार छैनन् भन्न मिल्दैन । यदि समृद्धि उल्लेखित युवाहरूका लागि पनि हो भने उच्च सम्भावना बोकेका ऊर्जा, पर्यटनलगायत क्षेत्रमा उद्योगको स्थापना गर्दै विदेशिएका युवाहरूलाई स्वदेश फर्काउन प्रेरित गर्नेगरी रोजगारीको सिर्जना गर्नु र वर्षैपिच्छे उत्पादन हुने नयाँ जनशक्तिलाई उचित काम दिलाउनु अहिलेको टड्कारो आवश्यकता हो । यो समृद्धिको पहिलो आधार पनि हो ।
कृषिमा आधुनिकीकरण
औद्योगिक क्रान्तिअघि बेलायत कृषि प्रधान मुलुक थियो । क्रान्तिले कुटिर उद्योगहरूलाई विस्थापित गरी कृषिमा यान्त्रीकरण गर्यो र बेलायत कृषिप्रधान देशबाट औद्योगिक राष्ट्रका रूपमा रूपान्तरण भयो । अहिले पनि नेपालको दुई तिहाई जनसङ्ख्या कृषिमा निर्भर छ । उक्त जनसङ्ख्याले कृषि त्यागेर अन्य क्षेत्रमा हात हाल्ने सम्भावना तत्काल छैन । केही ऊर्जाशील युवा उद्यमीहरूले गरेका उत्पादन पनि विदेशी आयातका अगाडि निरीह बनेर बजार खोजिरहेको अवस्थामा भौगोलिक वातावरण अनुरूपको खेती, वातानुकुलित कृषि उद्योगको स्थापना, कृषिमा आधुनिक प्रविधिको प्रयोग, उत्पादनमा वृद्धि र सहज बजारीकरणको व्यवस्था गरी युवाहरूलाई आधुनिक कृषि उद्योगमा लाग्न प्रेरित गर्नु आवश्यक छ ।
अबको शिक्षा
भनिन्छ शिक्षा गुणस्तरीय जीवन र विकासको मेरुदण्ड हो । तर विद्यमान नेपाली शिक्षा जीवन निर्वाहको आधार पनि बन्न सकेको छैन । शिक्षाले जीवन निर्वाहका लागि आवश्यक गास, बाँस, कपासको ग्यारेन्टी गर्न सकेको छैन । शिक्षामा व्यावसायिक ज्ञान शून्यप्रायः छ । एकातर्फ प्राविधिक शिक्षामा जनशक्तिको अनुपात न्यून छ भने अर्कोतर्फ हुँदा खाने र हुने खाने वर्गको शिक्षामा विभेद छ । गरिबका छोराछोरी पढ्ने सामुदायिक विद्यालयका विद्यार्थीहरू धनीका छोराछोरी पढ्ने निजी विद्यालयका विद्यार्थीहरूसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा छैनन् । यसर्थ शिक्षामा समान पहुँच र प्रभावकारी विकासका लागि व्यावसायिक तथा प्राविधिक शिक्षाको अनुपात वृद्धि, दुई खाले शिक्षा प्रणालीमा रहेको विषमता अन्त्य, राजनीतिक हस्तक्षेप मुक्त शिक्षालय, सामुदायिक र निजी विद्यालयको समायोजन तथा नियमन गर्दै शिक्षामा एकरूपता र शिक्षणमा सुधार अपरिहार्य छ ।
स्वास्थ्य सेवामा सुधार
दूरदराजका गरिबहरू सिटामोल नपाएर मर्ने, पहुँचवालाहरू खोकी लाग्दा राज्यको ढुकुटीमा विदेशी अस्पताल पुग्ने । अस्वस्थ नहुँदा पनि पहुँचका भरमा, स्वास्थ्य सहायताको नाममा राज्यको ढुकुटी कुम्ल्याउने कार्य वर्तमान नेपालका दुःखद् परिघटना हुन् । अब यस्ता रोगी मानसिकता र व्यवहारहरू बदलिन जरुरी छ । हरेक नागरिकलाई निःशुल्क स्वास्थ्य सेवाको सुनिश्चितता गर्दै स्वास्थ्य शिक्षाका नाममा हुने नाफा कमाउ धन्दालाई निरुत्साहित गरिनुपर्छ । स्वास्थ्यलाई निजीकरण गर्नुभन्दा प्रत्येक प्रदेशमा मेडिकल कलेजको स्थापना, जिल्ला र स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाहरूको सुधार र विकास गरी प्रवद्र्धनात्मक स्वास्थ्य शिक्षाको विस्तार गर्दै स्वास्थ्य सहायतका नाममा हुने राज्य ढुकुटीको दोहन अन्त्य हुनैपर्छ ।
यातायातको स्तर वृद्धि
नेपालमा सडक दुर्घटनाबाट बर्सेनि अत्यधिक मानिसको मृत्यु हुनेगरेको छ । एकातिर अव्यवस्थित सडक तथा चालकको लापरवाहीले मृत्यु हुनेको सङ्ख्या बर्सेनि बढिरहेको छ भने अर्कोतिर सवारी साधनको उल्लेखनीय वृद्धिलाई सहज व्यवस्थापन गर्न नसक्दा वातावरण प्रदूषणले सीमा नाघेको छ । सवारी साधनको आधारभूत स्तर नतोकेका कारण सार्वजनिक यातायात व्यवस्थित छैन । सवारी दुर्घटनामा चालकको मात्र दोष देखाई अन्य निकाय पन्छिने, सडकको स्तर वृद्धि नगर्ने र सवारी साधनको न्यूनतम स्तर नतोकी चलाउने हो भने सवारी दुर्घटना र वायु प्रदूषणको अवस्था भयावह हुनेछ । त्यसैले सडकको सुधार, पुराना सवारीको प्रयोगमा प्रतिबन्ध तथा सार्वजनिक यातायातको गुणस्तर वृद्धि गर्दै निजी सवारी साधनको प्रयोगमा कटौती गर्न ढिला भइसकेको छ ।
भ्रष्टाचार नियन्त्रण
अहिले यत्रतत्र सर्वत्र अधिक भ्रष्टाचार छ, जुन विकासको बाधक बन्दै आएको छ । त्यस्तो कुनै क्षेत्र छैन जहाँ भ्रष्टाचारको न्यूनतम गुनासो नभएको होस् । भ्रष्टाचारमा शून्य सहनशीलता भन्ने नारा वर्षौंदेखि अलाप्दै आए पनि सबै तह र तप्कामा भ्रष्टाचारले जरा गाडी बसेको छ । दिनानुदिन फैलिँदै गएको छ । समाजमा पैसा हुनेको मान मर्यादा हुने, पैसा नहुनेको इज्जतै नहुने संस्कृति मौलाउँदो छ । सोही कारण मानिसमा जसरी पनि पैसा कमाउनुपर्ने मानसिकता हावी हुँदै गएको छ । नीतिगत भ्रष्टाचारमा कर्मचारीहरू लिप्त हुँदै गएका छन् । यसरी व्याप्त भ्रष्टाचार नियन्त्रण गर्न र जसरी पनि पैसा कमाउनै पर्ने मान्यतालाई विस्थापित गरी भ्रष्टारीलाई कडा कारबाहीसहित तिरस्कार र इमानदारलाई पुरस्कारको व्यवस्था हुनुपर्छ । यसोगर्दा भ्रष्टाचार गरे बद्नाम भइने मानसिकता सानैदेखि बन्छ र सदाचारी बन्ने सोच स्थापित हुँदै जान्छ ।
विभेदको अन्त्य
भिन्न जात, वर्ग, लिङ्ग, भाषा, धर्म, संस्कृतिका आधारमा राज्यले गर्ने व्यवहार असमान हुनु सामाजिक विभेदको मूल कारण हो । समाजमा महिला र पुरुषलाई गरिने व्यवहार भिन्न छन् । धनी र गरिबलाई हेर्ने दृष्टिकोण फरक छन् । हिन्दु र मुस्लिमलाई बुझ्ने सोच खण्डीकृत छन् । यिनै कारणले समुदायहरू एक आपसमा विभाजित छन् । यस्ता विभाजित भावनाहरूलाई नजोडी समृद्धि सम्भव छैन । आर्थिक रूपमा बलियो हुनु मात्र नभई सामाजिक, सांस्कृतिकलगायत सबै पक्षको सन्तुलित र अनुशासित विकास गर्दै सभ्य र शालीन समाजको निर्माण गर्नु समृद्धि हो । त्यस्तो सन्तुलित र अनुशासित विकासका लागि सीमान्तकृत वर्ग र समुदायको सशक्तीकरण, सामाजिक कुरीतिहरूको अन्त्य आवश्यक छ । यदि समृद्धि पिछडिएका सीमान्तकृतहरूका लागि पनि हो भने सबैलाई हेर्ने दृष्टिकोण र गरिने व्यवहारहरू समान हुनुपर्छ ।
अतः सामान्यत राजनीति परिवर्तनका लागि हुन्छ । सत्ता प्राप्तिका लागि हुन्छ । नेपालमा पनि आजसम्मको राजनीति परिवर्तनका लागि थियो । राणा शासनदेखि गणतन्त्रसम्मको यात्रामा त्यो क्रूर राणा शासन, पञ्चायत र निरकुङ्श राजतन्त्रविरुद्धको राजनीति व्यवस्था परिवर्तनकै लागि थियो । जुन अपरिहार्य मात्रै हैन प्रशंसनीय थियो । त्यसका लागि आजका शीर्ष त्यतिबेलाका युवा नेताहरूले आफ्नो जवानीसँगै दिएको बलिदानीका लागि अहिलेको हाम्रो युवा पुस्ताले धन्यवाद दिनुपर्छ । सम्मान र गर्व गर्नुपर्छ ।
अब परिवर्तनको कोर्ष पूरा भएको छ । युवाहरू शालिन र सभ्य समाजसहतिको अनुशासित विकास चाहन्छन् । युवाहरू परिवर्तन हैन अब प्रगति चाहन्छन् । प्रगतिका लागि राजनीति हैन क्रान्ति चाहिन्छ । विभेद अन्त्यका लागि सामाजिक क्रान्ति, भोकमरी अन्त्यका लागि कृषि क्रान्ति, रोजगारीका लागि औद्योगिक क्रान्ति र गुणस्तरीय शिक्षाका लागि शैक्षिक क्रान्ति युवाहरूको चाहना हो । यी चाहनाहरू पूरा भएपछि मात्रै व्याप्त भ्रष्टाचार र गरिबीबाट मुक्त गर्दै देशलाई समृद्धि सुम्पिने प्रधानमन्त्रीको सपना पूरा हुनेछ ।

रुकुम


प्रतिक्रिया दिनुहोस्