सूर्यको अध्ययनका लागि रकेट प्रक्षेपण प्रकाशित मिति : 12 August, 2018 5:55 pm टाम्पा, अमेरिका / अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था (नासा) ले सूर्यको सतहको अध्ययनका लागि आइतबार एक अर्ब ५० करोड अमेरिकी डलरको महत्वाकाँक्षी एवं ऐतिहासिक अभियान सफल बनाउन अन्तरिक्ष रकेट प्रक्षेपण गरेको छ । यो अभियानले सौर्य आँधीको रहस्य पत्ता लगाउने अपेक्षा वैज्ञानिकहरुले गरेका छन् । “तीन, दुई, एक, ब्लास्टअफ” फ्लोरिडास्थित केप कानाभरालबाट डेल्टा–४ रकेट प्रक्षेपणका क्रममा विवरण सार्वजनिक गर्नासाथ हालसम्मकै तीव्र गतिको रकेट स्थानीय समयअनुसार बिहान ३:३१ बजे अँध्यारो आकाशतर्फ उडेको थियो । यस अनुसन्धान मिसनको नाम “पार्कर सोलार प्रोब” राखिएको छ । यो मानवरहीत अन्तरिक्ष यान इतिहासमै पहिलोपटक मानव निर्मित बस्तु सौर्य प्रणालीको सबैभन्दा नजिक पुग्नेछ । सात वर्षको यस मिसनअन्तर्गत पार्कर सोलार प्रोब सौर्य वायुमण्डल (कोरोना) मा प्रवेश गर्नेगरी डिजाइन गरिएको छ । यसलाई अतिशत–शक्तिशाली ताप प्रतिरोधकले सुरक्षित गरिएको छ । नासाका वैज्ञानिकहरुका अनुसार, यो अन्तरिक्ष यान सूर्यको सतहबाट ३८ लाख माइलभित्रको क्षेत्रमा प्रवेश गर्नेछ जसलाई कोरोना भनिएको छ । यो क्षेत्र सूर्यको सतहभन्दा ३०० गुणा बढी तातो हुने ठानिएको छ । रासस/एएफपी