मन मिलेर केटा–केटी भागेपछि यस्तो तान्डब प्रकाशित मिति : 11 August, 2018 7:35 am काठमाडौ साउन २६, / छोरी भगाएको निहुँमा केटी पक्षले केटाको घरमै सामुहिक आक्रमण गरी भौतिक सम्पत्ति क्षति गरेका छन् । कपिलवस्तुको महराजगञ्ज नगरपालिका ७ लेङ्गडास्थित साहिल मुसलमानको घरमा ठूलो संख्यामा आएको जथ्थाले तोडफोड गरी भौतिक सम्पत्ति नोक्सान गरेका छन् । घरेलु हातहतियार, लाठीसहित एकसय बढीको संख्यामा गएका व्यक्तिहरुले साहिलको घरभित्र पसी पम्पसेट, भाँडाकुँडा, खाद्यान्न लगायतका सामान तोडफोड र नोक्सान गरेको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ। समूहले नगद, सुन, चाँदी समेत लुटेको पीडितले जनाएका छन् । तोडफोडमा संलग्न ९ जनालाई पक्राउ गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूर्यबहादुर बोगटीले जानकारी दिए। दुई दिनअघि महराजगञ्ज नगरपालिका ६, जिग्नाकी १८ वर्षीय शीला कुर्मी र महराजगञ्ज ७, लेङ्गडाका ३० वर्षे साहिल मुसलमान मन मिलेर भागेपछि केटी पक्षले यस्तो उपद्रो मच्चाएको प्रहरीले जनाएको छ । घरबाट भागेका केटा र केटी दुवै अहिलेसम्म परिवारको सम्पर्कमा आएका छैनन्। आजको समाचार पत्र दैनिकमा यो खबर छापिएको छ ।