भदौ १ देखि लागू हुँदै कडा खालको मुलुकी ऐन : शारीरिक सम्पर्कबाट शिशु जन्मिए स्वतः विवाह प्रकाशित मिति : 11 August, 2018 7:09 am काठमाडौ साउन, २६ / भदौ १ गतेदेखि मुलुकी संहिता ऐनलगायत ६ वटा नयाँ नयाँ कानुन लागू हुँदैछ। प्रचलित मुलुकी ऐन २०२० लाई प्रतिस्थापन गर्ने यी ऐनमा सामाजिक –सांस्कृतिक विकृतिलाई नियन्त्रण गर्ने कडा सजाय व्यवस्था गरिएको छ । सार्वजनिक आवागमनमा बाधा पु¥याउने गरी चक्काजाम गरे तीन वर्ष, राष्ट्रिय झण्डा जलाए तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना र दाइजो मागे पाँच वर्ष कैदको व्यवस्था गरिएको छ । कार्यविधिमा पारिवारिक कानुनअन्तर्गत विवाहसम्बन्धी व्यवस्थामा केही हेरफेर भएको छ। अब २० वर्ष नपुगी कुनै पनि युवक–युवतीले विवाह गर्न पाउने छैनन्। २० वर्ष नपुग्दै विवाह भएमा त्यो बदर हुनेछ। कार्यविधिको दफा ७० मा विवाह हुन सक्ने अवस्थाबारे उल्लेख गरिएको छ। दफा ६९ मा विवाह गर्ने स्वतन्त्रता उल्लेख गरिएको छ। विवाहको स्वतन्त्रता सबैलाई भएजस्तै जुनसुकै किसिमबाट भएको भए पनि विवाह सार्वजनिक गर्नुपर्नेछ। विवाहलाई गोप्य राख्न पाइने छैन। सन्तान उत्पादन क्षमता नभए पनि बिहे नहुने कार्यविधिमा विवाह गर्नु नहुने व्यवस्थालाई विभिन्न दफा ९७१० र उपदफामा समेटेको छ। शरीरमा मानव रोग प्रतिरोधक क्षमता नष्ट गर्ने जीवाणु एचआईभी वा हेपाटाइटिस बी प्रकृतिका रोग लागेमा पनि विवाह गर्न पाइने छैन। यौनाङ्ग नभएको वा सन्तान उत्पादन गर्ने क्षमता नभएको प्रमाणित भइसकेको भए पनि विवाह गर्न र गराउन पाइने छैन। त्यसैगरी, पूर्ण रुपमा बोल्न वा सुन्न नसक्ने, पूर्ण रुपमा दृष्टिविहीन वा कुष्ठ रोगी भए, होस ठेगानमा नभए, गर्भवती भए र नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुर ठहरी भइ अदालतबाट सजाय पाएको भए पनि विवाह गर्न र गराउने पाइने छैन। शारीरिक सम्पर्कबाट शिशु जन्मिए स्वतः विवाह कुनै पुरुषसँगको शारीरिक सम्पर्कबाट महिलाले गर्भधारण गरी शिशु जन्माएको प्रमाणित भएमा स्वतः विवाह भएको मानिने छ। यद्यपि जबरजस्ती करणीले महिलाले गर्भधारण गरी शिशु जन्मिएकमा भने स्वतःविवाह मानिने छैन। विवाहित महिलाले विवाहपछि बाबु–आमाले प्रयोग गरेको थर वा निजको पतिको थर जुन पनि प्रयोग गर्न सक्छन्। मुलुकी देवानी (संहिता ) ऐनले विदेशमा बसेकालाई त्यही विवाह दर्ता गर्ने व्यवस्था गरेको छ। पति वा पत्नीले अन्य महिला र पुरुषसँग यौन सम्बन्ध राखेको ठहर गरेमा पनि सम्बन्धबिच्छेद गर्न सकिनेछ। पतिले पत्नीलाई जबरजस्ती करणी गरेको ठहर भएमा पनि सम्बन्ध विच्छेद गर्न पाइने छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा यो खबर छापिएको छ।