बालक अपहरण र हत्या प्रकरण : इन्काउन्टर नै शंकास्पद प्रकाशित मिति : 8 August, 2018 7:21 am काडमाडौं साउन २३, / राजधानीमा ११ वर्षीय बालक निसान खडकालाई अपहरण र हत्या गर्ने दुई युवक प्रहरीसँगको मुठभेडमै मारिएका हुन् या होइनन् भन्नेमा शंका उब्जिएको छ। पेप्सीकोला टाउनबाट आइतबार अपहरणमा परेका निसानको हत्या भएको पुष्टि सोमबार भएको थियो। त्यसलगत्तै अपहरण र हत्यामा संलग्न भनिएका गोपाल तामाङ र अजय तामाङ प्रहरीसँगको मुठभेडमा मारिएको दाबी गर्दै महानगरीय प्रहरी अपराध महाशाखाले विज्ञप्ति जारी गरेको थियो। तर, अहिले मुठभेड नै शंकास्पद देखिएको छ । सूर्यविनायक नगरपालिका–८ पाइलट बाबा आश्रम जाने जंगलमा अपहरणकारीले प्रहरी टोलीमाथि गोली प्रहार गर्न लाग्दा आत्मरक्षाका लागि चलाएको गोली लागी उनीहरूको मृत्यु भएको महाशाखाको दाबी छ। तर अपहरणकारीलाई नियन्त्रणमा लिन नसकी गोली नै चलाउनुपर्ने अवस्था कसरी आयो भन्ने प्रश्न अनुत्तरित छ । नगदेशस्थित डेराबाट उनीहरू कसरी त्यहाँसम्म पुगे भन्ने प्रश्नको पनि प्रहरीले उत्तर दिएको छैन। अनुसन्धानमा संलग्न प्रहरीका अनुसार मारिएका अपहरणकारीलाई प्रहरीको ७ गोली लागेको छ । प्रहरीले १९ राउन्ड फायर गरेको थियो भने अपहरणकारीका तर्फबाट कुनै फायर भएको छैन। ठूलो संख्यामा परिचालित प्रहरीले त्यति धेरै गोली फायर गर्नुपर्ने अवस्था आउनुलाई एक पूर्वउच्च प्रहरी अधिकारीले शंकास्पद मानेका छन्। अपहरणकारीको मृत्युको घटनामा स्वाभाविक नलाग्ने केही तथ्य बाहिर आएको ती अधिकारीले बताए । ‘सार्वजनिक भएको अपहरणकारीको फोटोमा उनीहरूको खुट्टामा चप्पल देखिन्छ। जंगलको बाटो चप्पल लगाएर दौडिनु त्यति सहज हुँदैन,’ उनले भने, ‘त्यस्तो अवस्थामा प्रहरीले उनीहरूलाई सजिलै नियन्त्रणमा लिन सक्थ्यो।’महाशाखाले भने उनीहरूले प्रहरी टोलीमाथि नै जाइलागेको दाबी गरेको छ । अपहरणकारीले बन्दुक ताकेको तर ट्रिगरमा समस्या देखा परेको अनुसन्धानमा खटिएका एक प्रहरीले दाबी गरे। ‘महाशाखाले भनेजस्तै जंगलको बाटो दौडेर भाग्दै गरेका अपहरणकारीले गोली नै प्रहार गरेको भए पनि रुखको बीचमा सही निसान साँध्नु सजिलो होइन,’ उनले भने, ‘महाशाखाले अपहरणकारी व्यावसायिक आपराधिक समूहको व्यक्ति नभएको सूचना बिहानै पाइसकेको थियो। त्यस्तो अवस्थामा प्रहरीले घुँडामुनि गोली हानेर वा अपहरणकारी भाग्ने सम्भावित दिशामा व्यापक जनशक्ति परिचालन गरेर अपहरणकारीलाई सजिलै समात्ने सम्भावना हुन्थ्यो।’ महाशाखाले दाबी गरेजस्तै अपहरणकारीहरू जंगलतर्फ भाग्दै गरेको अवस्थामा मुठभेड नभएको संकेत नगदेशका प्रत्यक्षदर्शी स्थानीयको भनाइले पनि दिन्छ। मंगलबार घटनास्थल क्षेत्रका केही बासिन्दाले महाशाखाको टोलीले दुई अपहरणकारीलाई समातेको र कुटपिट गरेको बताए । प्रहरीले त्यसपछि ती दुई जनालाई कहाँ लिएर गयो भन्नेबारे केही बताएको छैन। प्रहरीले अपहरणकारी बस्ने घरधनीसँग पनि कुराकानी गरेको देखिन्छ । नगदेशकै एक स्थानीयले प्रहरीले अपहरणकारीबाटै सूचना लिएर बालकको शव फेला पारेको दाबी गरे । ‘यसलाई आधार मान्ने हो भने त महाशाखाको टोलीले नै अपहरणकारीलाई आफूसँगै लिएर गएको संकेत मिल्छ,’ ती अधिकारीले भने। त्यो एसएमएस अपहरणकारीबाट बालकलाई बचाउन भन्दै प्रहरी परिसर काठमाडौंले चालेको एउटा कदम पनि शंकाको घेरामा परेको छ । फिरौती माग्न अपहरणकारीले प्रयोग गरेको मोबाइल नम्बर पाउनेबित्तिकै प्रहरी परिसर काठमाडौंको आधिकारिक नम्बरबाट अपहरणकारीको मोबाइलमा एउटा सन्देश पठाइएको थियो। अपहरणकारीको मोबाइल अफ भएका कारण उक्त एसएमएस टेलिकम सिस्टममा ‘पेन्डिङ’ मा बसेको थियो । सोमबार अपहरणकारी मारिएपछि महाशाखाको टोलीले उनीहरूको साथबाट बरामद गरेको सिमकार्ड मोबाइलमा हाल्दा उक्त सन्देश डेलिभर भएको थियो । उच्च स्रोतका अनुसार परिसरबाट पठाइएको सन्देशमा ‘बालकलाई तुरुन्त नछाडे जे पनि हुन सक्ने’ आशयको सन्देश थियो । अपहरणकारीलाई धम्काएर बालक छुटाउने रणनीतिअन्तर्गत त्यस्तो सन्देश पठाइएको भए पनि अपहरणकारीले सिम निकालिसकेकाले त्यो पढ्न पाएका थिएनन् । अपहरणजस्तो संवेदनशील घटनामा त्यसरी सन्देश पठाउनु अनुसन्धानका दृष्टिले गलत हुन सक्ने पूर्वप्रहरी अधिकारी बताउँछन्। महाशाखा र परिसरबीच समन्वय नहुँदा समयमै बालकको उद्धार हुन नसकेको र अपहरणकारीसित भएको भनिएको इन्कान्टर समेत सन्देहमा परेको ती अधिकारीले बताए । ‘इन्काउन्टर र एसएमएस प्रकरण दुवैमाथि प्रहरी प्रधान कार्यालयको दृष्टिकोण आउनुपर्छ,’ उनले भने। अपहरणमा संलग्न अजय र गोपाल डेरा गरी बस्ने घरकै एक सदस्यले उनीहरुलाई प्रहरीले घरबाटै कुटपिट गरेर लिएर गएको दावी गरेका छन्। खबर आजको कान्तिपुर दैनिकमा जनकराज सापकोटा र लीला श्रेष्ठले लेखेका छन्।