चिनियाँ व्यापारीले किन लगाए रुद्राक्षलाई क्लिप ?

काठमाडौ‌ २२ साउन /
चिनियाँ व्यवसायीले थेप्चो पारेको रुद्राक्ष मन पराउने, भारतीयले साविककै।

दुई ठूला देशका व्यवसायीको यो अनौठो रुचिले संखुवासभाका रुद्राक्ष उत्पादकलाई नै विभाजित गरेको छ। चिनियाँहरू बोटमै आकार बिगारी थेप्चो पारिएको रुद्राक्ष मन पराउँछन् । त्यसैले उनीहरूका लागि यहाँका करिब ३ लाख दानामा स्वरूप बिगार्ने ‘क्लिप’ राखिएको छ। चैनपुर नगरपालिकाको खराङ र लोहाकोटमा रुद्राक्षको बोटमा प्लास्टिकका ‘क्लिप’ राखेर आकार थेप्चो बनाइएको छ । ती क्लिप चीनमै बनाएर ल्याइन्छन् ।

भारतीयलाई भने प्राकृतिक स्वरुपकै रुद्राक्ष मन पर्छ । रुद्राक्षको रुप बिग्रन थालेपछि व्यवसायीले त्यसमा रोक लगाउने निर्णय गरेका छन् । जिल्ला प्रशासनमा बसेको रुद्राक्ष व्यवसायी संघको भेलाले व्यवसायीलाई प्लास्टिकका सामग्री प्रयोग गरेर रूप बिगार्न नदिने निर्णय गरेको हो ।

चिनियाँ व्यवसायीको चाहनाअनुसार केही कृषक र व्यवसायीले रुद्राक्षको स्वरूप बिगारेको अन्य व्यवसायीले बताए । बोटमा रुद्राक्ष चेप्टाएको खबर पाएपछि व्यवसायी संघका प्रतिनिधि स्थलगत अनुगमनमा गएका थिए । प्रहरी टोलीसहित अनुगमनमा पुगेका उनीहरूले रुद्राक्षको बोटमा लगाइएको क्लिप जफत गरेको व्यवसायी विपिन राईले बताए ।

‘रुद्राक्षलाई प्राकृतिक आकारमै रहन दिनुपर्छ,’ उनले भने, ‘केही व्यापारीले बिगारेका छन्, त्यसले गर्दा यहाँको रुद्राक्षको मूल्य घट्दै गइरहेको छ ।’
गत वर्षदेखि रुद्राक्षको रूप बिगार्न थालिएको र यसको नकारात्मक प्रभाव देखा पर्न थालेको छ रुद्राक्ष व्यवसायी संघका अध्यक्ष चक्र विसुन्केले बताए । कृत्रिम स्वरूपमा रुद्राक्ष उत्पादन भएपछि प्राकृतिक स्वरूपका रुद्राक्षको मूल्य घट्न थाल्यो,’ उनले भने।आजको कान्तिपुर दैनिकमा यो खबर छापिएको छ ।


प्रतिक्रिया दिनुहोस्