अपहरणकारी मात्र होइन, प्रमाण मारियो प्रकाशित मिति : 7 August, 2018 8:12 am अपहरणकारी मार्ने प्रहरी प्रशंसाको शिखरमा,तर बालक किन बचाउन सकिएन भन्ने मूल प्रश्न ओझेलमा काँडाघारीस्थित हाइल्यान्ड स्कुलमा कक्षा ६ मा पढ्ने निशान खड्का सधैँझै आइतबार पनि चार बजेपछि विद्यालयबाट फर्किए । आमा चमेलीले गार्डेन चोकमा सञ्चालन गरेको चिया पसलमा खाजा खाए । ज्यामिरे–९ सिन्धुपाल्चोक घर भएकी चमेलीले सात वर्षदेखि यही क्षेत्रमा पसल चलाउँदै आएकी छिन् भने उनका श्रीमान् मलेसियामा मजदुरी गर्छन् । विद्यालयबाट निशान आउँदा नियमित ग्राहक गोपाल तामाङ पसलमै थिए । चमेलीले मोबाइल पुरानो भएकाले नयाँ किन्ने प्रसंग निकालिन् । किन्न जान गोपाल तत्पर भए । चमेलीले १५ सय रुपैयाँ दिएपछि छोरा निशान र गोपाल नयाँ मोबाइल किन्न गए । फर्किएर गोपालले सिमसमेत फेरिदिए । एउटा बियर खाएर साढे सात बजे उनी पसलबाट बाहिरिए । तर, त्यतै खेल्दै गरेका निशान अबेरसम्म डेरामा आएनन् । अचानक पौने ९ बजे चमेलीको मोबाइलमा फोन आयो, ‘तिम्रो छोरा हाम्रो कब्जामा छ, ४० लाख रुपैयाँ तयार पार ।’ तत्कालै उनले गुहार मागिन् । छिमेकीहरू जम्मा भए । प्रहरीलाई खबर भयो । तर, रातभरिको प्रयासबीच पनि बालक भेटिएनन् ।,आजको नयाँ पत्रिकामा यो खबर छापिएको छ ।