राजधानीमै बालकको अपहरण र हत्या : किन बचाउन सकेन प्रहरीले ?

काठमाडौ‌ साउन २२ / प्रहरीले समयमै सूचना पाए पनि प्रभावकारी अनुसन्धान गर्न नसक्दा राजधानीमा आइतबार अपहरित एक बालकको ज्यान गुमेको छ। पेप्सिकोला टाउन प्लानिङस्थित डेराबाट अपहरित ११ वर्षीय निसान खड्कालाई प्रहरीले सोमबार मध्यान्ह १२ बजेतिर मात्रै मृत अबस्थामा फेला पारेको थियो।
बलियो सुरक्षा व्यवस्था भएको भनिएको काठमाडौंमा ११ वर्षीय बालकको अपहरणपछि हत्या भएको घटनाले राजधानीको सुरक्षा व्यवस्थामाथि प्रश्नचिन्ह खडा गरिदिएको छ।

आईतबार राती नौ बजे अपहरणकारीले निशानकी आमा चमेलीलाई फोन गर्दै छोरा अपहरणमा परेको भन्दै ४० लाख रुपैयाँ फिरौती मागेका थिए । त्यसलगत्तै परिवार प्रहरीको सम्पर्कमा पुगेको थियो । निशानको डेराबाट उनको हत्या भएको स्थान मुस्किलले केही किलोमिटरको दुरीमा पर्छ । मान्छेको चहलपहल हुने र बाक्लो बसोबास रहेको क्षेत्रमा लगेर अपहरणकारीले निशानलाई लुकाएको र फिरौती पनि असुल्न नसकिने, घटना पनि सार्वजनिक हुने डरले हत्या गरिएको देखिन्छ।

सूचना पाएको १५ घन्टापछि मात्रै प्रहरीले बालकलाई मध्यपुर थिमीको नगदेशस्थित श्याम लवटको घर निर्माणका लागि खनेको जगको खाल्डोमा मृत फेला पारेको थियो। अदालतबाट अनुमति लिएरमात्रै फोन कल लोकेसन हेर्न मिल्ने नीतिगत व्यवस्था भए पनि प्रहरीले आपतकालिन अवस्था भन्दै राती ११ नबज्दै अपहरणकारीको लोकेसन टेलीकम स्रोतबाट लिइसकेको थियो। अपहरणकारीको लोकेशन मध्यपुर थिमी देखिएलत्तै प्रहरी टोली उक्त क्षेत्रमा परिचालित भएको थियो । अपहरणकारीको खोजतलासमा समयमै प्रहरी परिचालन भए पनि प्रहरी परिसर काठमाडौं र महानगरिय प्रहरी अपराध महाशाखाबीच उचित समन्वय हुन नसक्दा खोजी भने प्रभावकारी बनेको थिएन।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार महाशाखाले आफूले पाएको सुचना आफैसँग राख्ने र परिसरले पनि आफूले पाएको सुचना महाशाखालाई शेयर गर्ने गरेको देखिएन । सकेसम्म आफ्नो टोलीले अपहरणकारी पत्ता लगाउने प्रतिस्पर्धाले अनुसन्धान कमजोर देखिएको केही प्रहरी अधिकारीले अनौपचारिक कुराकानीमा बताए।

जस्तो कि प्रहरी परिसर काठमाडौं र प्रहरी परिसर भक्तपुरबाट झण्डै दुई सयको संख्यामा प्रहरी परिचालन भएका थिए। महाशाखाले भने पाँच–पाँच जनाको चार टोली परिचालन गरेको थियो । सामान्यतया अपहरणको घटनामा अपहरणकारीलाई प्रहरीको गतिविधिबारे थाहा नदिन कोभर्ट ९प्रहरीले भेस बदलेर गोप्य रूपमा गर्ने० अप्रेसन गर्ने गरिन्छ । तर आइतबारको अपहरणको घटनामा परिसर र महाशाखा दुवैले आफू मातहतमा व्यापक प्रहरी परिचालन गरेको थियो। प्रहरीका एक उच्च अधिकारीले प्रहरी संगठनभित्रको आन्तरिक प्रतिस्पर्धा र सुचना साटासाटको प्रणाली नहुँदा अप्रेसन प्रभावकारी नभएको बताए ।

यसरी भयो हत्या
पेशाले पेन्टरको काम गर्ने गोपाल तामाङ र अजय तामाङ निशानकी आमा चमेलीले चलाएको रेस्टुरामा लामो समयदेखिका नियमित ग्राहक थिए। नियमित आउजाउमा यी दुवैले निशानलाई चिनेका मात्रै थिएनन चमेलीको श्रीमानले विदेशबाट नियमित पैसा पठाउने कुरा पनि थाहा पाएका थिए। अनुसन्धानमा संग्लन एक प्रहरीका अनुसार श्रीमानले पठाएको पैसा जम्मा पारेको थाहा पाएरै उनीहरुले पैसा धुत्न अपहरण गरेको देखिन्छ।

सधैँ होटलमा आउने, खाने र कहिलेकाही बस्नेसमेत भएकाले निशान सजिलै अपहरणकारीको पछि लागेर गएको प्रहरी अनुसन्धानमा देखिन्छ। अपहरणकारीले निशानलाई नगदेशस्थित आफू बस्ने डेरामा लगे र उनकै अघि चमेलीसँग फोन गरेर फिरौती मागेका थिए। प्रहरी स्रोतका अनुसार अपहरणकारीको मोबाइल ८ बजेर ५७ मिनेटमा बन्द भएको थियो । उनीहरुले पुरानो सिम निकालेर नयाँ सिमबाट निशानको आमासँग कुरा गरेपछि फेरि फोनबाट नयाँ सिम निकालेका थिए।

फिरौती मागेको थाहा पाएपछि आत्तिएर कराउन थाले पछि उनीहरुले कोठामै निशानको हत्या गरेको प्रहरीको भनाइ छ। हत्यालगत्तै डेरा नजिकै खनेको घरको जगमा उनीहरुले निशानको शवलाई हालेको देखिन्छ। अनुसन्धानमा संग्लन प्रहरीका अनुसार निशानको हत्या राती १२ बजे अगाडि नै गरेजस्तो देखिएको छ । हत्यापछि शव व्यवस्थापन गरेर अपहरणकारी सोही कोठामा बसेको र बिहानमात्रै बाहिर निस्केको देखिन्छ।

महानगरीय प्रहरी अपराध महाशाखा र प्रहरी परिसर काठमाडौंको टोली आ–आफ्नै शैलीमा निशानको खोजीमा जुटेको थियो । परिसर टोलीले निशानलाई धुलिखेलतिर पुर्‍याएको सुचनासमेत पाएको थियो। महाशाखाको टोली भने अपहरणकारीको लोकेशन खोज्नमा लागिपरेको देखिन्छ । निशानको शव फेला परेलगत्तै महानगरिय प्रहरी अपराध महाशाखाले अपहरणपछि बच्चाको हत्या गरेर भागेका दुई जना मुठभेडमा मारिएको विज्ञप्ती जारी गरीसकेको थियो।

महाशाखाका एसएसपी धिरजप्रताप सिंहले सूर्यबिनायक नगरपालिका ८ स्थित पाइलट बाबाको आश्रम नजिकको जंगल हुँदै भागिरहेका अपहरणकारीलाई पक्राउ गर्दा भएको मुठभेडमा अपहरणकारी मारिएको दाबी गरे। महाशाखाका अनुसार मारिनेमा नुवाकोट समरी स्थायी घर भएका २२ वर्षीय गोपाल तामाङ र सिन्धुपाल्चोक कर्थलीका २३ बर्षीय अजय तामाङ छन् । प्रहरीले उनीहरुको साथबाट एक थान पेस्तोल, दुई थान गोली र अपहरणमा धम्क्याउन प्रयोग भएको सिम बरामद गरेको जनाएको छ।

तर प्रहरीले अपहरणकारीसँग कस्तो खालको मुठभेड भएको हो र गोली घुँडामाथि हान्नुपर्ने अवस्था कसरी निम्तिएको हो भनेर खुलाएको छैन। प्रहरीका अनुसार अपहरणकारीलाई प्रहरीको सात गोली लागेको छ। अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार महाशाखाको टोलीले १९ राउन्ड फायर गरेको थियो । प्रहरीले त्यतिका धेरै गोली प्रहार गर्दा पनि अपहरणकारीका तर्फबाट कुनै फायर भएको देखिन्न। एक पूर्व प्रहरी अधिकारीले घटनाको प्रकृती विश्लेषण गर्दै अपहरणकारीको इन्काउन्टर बिना नै घाईते वा सद्धे हालतमा पक्रिन सक्ने सम्भावनालाई नजरअन्दाज गरिएको बताए। आजको कान्तिपुर दैनिकमा जनकराज सापकोटाले यो खबर लेखेका छन्।


प्रतिक्रिया दिनुहोस्