इन्डोनेशियामा एक हप्ताभित्र फेरि अर्को शक्तिशाली भूकम्प, ८२ को मृत्यु

बीबीसी / इन्डोनेशियाको लोमबोक द्वीपमा आइतबार गएको शक्तिशाली भूकम्पमा परी ८२ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सात म्याग्निच्युडको भूकम्पले हज्जारौं भवनमा क्षती पुगेको छ भने थुप्रै स्थानमा बिजुली आपूर्ती बन्द भएको छ ।

लोमबोक नजिकैको द्वीपमा खिचिएको एक भिडियो फुटेजमा मानिसहरु निकै चिच्याउँदै घरबाट बाहिर निस्किरहेको देख्न सकिन्छ । लोकप्रिय पर्यटन स्थल लोमबोकमा गत हप्ता पनि एक भूकम्प गएको थियो जसमा कम्तीमा १६ जनाको मृत्यु भएको थियो । यूएस जियोलोजिकल सर्वेका अनुसार आइतबारको भूकम्पको केन्द्र लोमबोकको उत्तरी तट नजिकैको रहेको छ ।

भूकम्प आएपछि सुनामीको चेतावनी जारी गरिएको थियो तर केही घण्टाभित्रै त्यो फिर्ता लिइयो । इन्डोनेशियाको प्रकोप व्यवस्थापन एजेन्सीका प्रवक्ताले लोमबोकका मुख्य शहर मताराममा केही भवनमा क्षती पुगेको जानकारी दिएका छन् ।

बालीमा पनि झट्काः

बालीको राजधानी देनपसारको मुख्य अस्पतालमा बिरामीलाई बाहिर निकाल्नु परेको थियो । बालीमा थुप्रै सेकेन्डसम्म झट्का महसुस भएको थियो । बालीको देनपसारमा बस्ने एक व्यक्तिले बीबीसीलाई भने, ‘सुरुमा त सानो झट्का महसुस भएको थियो तर क्रमशः बढ्दै गयो । मानिसहरु चिच्याउन सुरु गरे । सबै कर्मचरी निकै हडबडाए र बाहिर निस्कन सुरु गरे ।


प्रतिक्रिया दिनुहोस्