महिला फुटबलको उपाधि प्रिन्ट मिडियालाई

काठमाडौँ, साउन / नेपाल पत्रकार महासंघ महिला विभागद्वारा आयोजित महिला फुटबल प्रतियोगिताको उपाधि प्रिन्ट मिडियाले जितेको छ ।‘महिला पत्रकार कोषका लागि एक गोल’ भन्ने नाराका साथ आज सातदोबाटोस्थित एन्फा मैदानमा भएको प्रतियोगितामा अनलाइन मिडियालाई २–१ गोलले पराजित गर्दै प्रिन्ट मिडियाले उपाधि जितेको हो । खेल जारी रहेकै बेला रातपरेपछि खेल बीचमै रोकेर पेनाल्टीमार्फत विजेता घोषित गरिएको थियो ।

नेपाल पत्रकार महासंघ महिला समितिद्वारा आयोजना गरिएको “महिला पत्रकार कोषका लागि एक गोल” नाराको साथमा आयोजना गरिएको महिला पत्रकारहरु बिचको फुटबल प्रतियोगितामा विजेता बन्न सफल प्रिन्टमिडियाका महिला फोटोपत्रकारहरु ट्रफिको साथमा फोटो खिचाउँदै । तस्बिर ः प्रदीपराज वन्त, रासस

विजेता टोली प्रिन्टका लागि पून्यवती ढकाल र भाषा शर्माले गोल गरेका थिए भने अनलाइनका तर्फबाट मुना कार्कीले मात्र गोल गर्न सकिन्, अन्य खेलाडीले हानेको पेनाल्टीले गोलपोष्टको दिशा लिन सकेन ।

प्रतियोगितामा रेडियो र टेलिभिजनले संयुक्तरुपमा तेस्रो स्थान प्राप्त गरे । निर्धारित २० मिनेटको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि दुवै टोलीलाई तेस्रो भएको घोषणा गरिएको थियो ।

महिला पत्रकार कोषका लागि एक गोलÚ भन्ने नाराका साथ आज सातदोबाटोस्थित एन्फा मैदानमा भएको प्रतियोगिताको उद्घाटनका क्रममा सम्बोधन गर्नुहुँदै युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) । तस्वीर ः कुमार चौलागाईं, रासस

विजेता टोली रेडियोलाई १–० गोलले र उपविजेता अनलाइन टोली टेलिभिजनलाई २–१ ले पराजित गरी फाइनलमा पुगेका थिए ।

विजेता तथा उपविजेता टोलीलाई नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेल, महासचिव रमेश विष्ट, सचिव रामप्रसाद दाहाललगायतले ट्रफी प्रदान गर्नुभयो ।

यसअघि प्रतियोगिताको उद्घाटन गर्दै युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माले खेलकुद क्षेत्रका समस्याबारे पत्रकारहरुले आ–आफ्नो मिडियाबाट खबरदारी गर्न आग्रह गर्नुभयो ।

खेलकुदको क्षेत्रबाट मुलुकको समृद्धि गर्न सकिने बताउँदै उहाँले नेपालमा अन्तर्राष्ट्रियस्तरका खेल मैदान निर्मााण थालिने बताउनुभयो । सो अवसरमा मन्त्री विश्वकर्माले विजेता टोलीले प्राप्त गर्ने गरी प्रोत्सहानस्वरुप रु १० हजार महासंघका कोषाध्यक्ष राजेश मिश्रलाई हस्तान्तरण गर्नुभयो । रासस

 


प्रतिक्रिया दिनुहोस्