पाकिस्तानमा भएको हत्याप्रति राष्ट्रसंघीय प्रमुखद्वारा निन्दा प्रकाशित मिति : 26 July, 2018 6:01 pm संयुक्त राष्ट्रसंघ / पाकिस्तानमा बुधबार सम्पन्न आमनिर्वाचनको मतदानका क्रममा भएको हिंसात्मक हमलाको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले निन्दा गर्नुभएको छ । नागरिकले स्वतन्त्र र शान्तिपूर्ण रुपमा आफ्नो अभिमत प्रकट गरिरहेको समयमा यसरी हिंसात्मक हमला गरी कसैको ज्यान लिने कार्यको जस्तोसुकै शब्दमा निन्दा गरेपनि कम हुन्छ– उहाँका प्रवक्ताद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ । मतदानका क्रममा पाकिस्तानको क्वेटा प्रान्तमा भएको सो बम हमलामा परी ३१ जनाको ज्यान गएको थियो । यसमा परी अरु दर्जनौँ व्यक्ति घाइते भएका छन् । महासचिव गुटरेसका प्रवक्ता स्टेफन डुजारिकले प्रकाशन गर्नुभएको सो विज्ञप्तिमा बम आक्रमणबाट ज्यान गुमाएका व्यक्तिहरुप्रति श्रद्धाञ्जलि र उनीहरुका परिवारलाई समवेदना व्यक्त गर्नुभएको छ । सो विज्ञप्तिमा महासचिव गुटरेसले आतङ्कवादका विरुद्धमा पाकिस्तान सरकारले जारी राखेको लडाइँमा आफ्नो सहयोग र ऐक्यबद्धता रहेको पनि बताउनुभएको छ । पाकिस्तानमा संसद र चारवटा प्रान्तीय सभाका लागि बुधबार मतदान भएको थियो । यहाँ निर्वाचनजन्य हिंसामा परी अरु कैयौँको ज्यान गएको छ । त्यस्तै निर्वाचनको पूर्वसन्ध्यामा सत्तारुढ दल पाकिस्तान मुस्लिम लिग–नवाजका नेता एवं पूर्वप्रधानमन्त्री नवाज शरिफलाई जेल सजाय सुनाइएकाले पनि हिंसा बढ्ने अनुमान गरिएको थियो । आतङ्ककारी गतिविधिबाट सताइएको पाकिस्तानमा चुनाव–केन्द्रित हिंसात्मक घटना भएका छन् । हिंसात्मक आक्रमणमा परी १८० जनाभन्दा बढीको ज्यान गइसकेको छ । रासस/एएफपी