रियल म्याड्रिडले नेयमारलाई भित्राउन प्रयास गर्ने प्रकाशित मिति : 14 July, 2018 9:12 am शनिबार, असार ३०, २०७५ म्याड्रिड – रियल म्याड्रिडले ब्राजिलियन स्टार नेयमारलाई भित्राउनका लागि प्रयास सुरु गर्ने भएको छ । नेयमार गत सिजन मात्र विश्व कीर्तिमानी रकममा अर्को चर्चित स्पेनिस क्लब बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन पिएसजी पगेका थिए । नेयमार भित्राउने प्रयासका लागि क्लबले आफ्ना सबैभन्दा उत्कृष्ट प्रतिनिधि जुनी कालाफाटलाई पठाउने भएको छ । उनले नेयमारका बाबुसँग कुराकानी गर्ने बताइएको छ । रियलका अन्तर्राष्ट्रिय फुटबल विभागका प्रमुख कालाफाटले आउदो सिजन क्लबमा भित्राउन नेयमार र उनका बाबुलाई मनाउन सक्ने अनुमान गरिएको छ । ब्राजिलियन नेयमारको पिएसजीमा सन् २०२२ सम्मको सम्झौता रहेको छ । फ्रान्सेली क्लब पिएसजीका अध्यक्ष नासेर अल खालिफाले नेयमार विक्रीका लागि नरहेको बताएका थिए । रियल नेयमारलाई भित्राउन सफल हुने विश्वास लिएको छ । नेयमारका बाबु रियलमा सरुवा गराउनेमा यसअघि नै सकारात्मक रहकोले पनि उनीमाथि सम्झौताका लागि दबाब बन्न सक्ने विश्वास गरिएको छ । पिएसजीमा नेयमारका लागि रिलिज क्लज नभएकाले पनि सरुवा सम्भव हुने कतिपयको विश्वास छ । नेयमार २ सय २२ मिलियन युरामा पिएसजी सरुवा भएका थिए । नेयमारले अहिले पनि क्लब छाड्ने कुनै संकेत नगरेका कम्तीमा उनी अर्को सिजन रहने पिएसजीको विश्वास छ । यद्दपी उनलाई भित्राउन रियलले दबाब बनाउने लगभग निश्चित छ । रियल नेयमार सम्भव नभए विकल्पमा चेल्सीका इडेन हाजार्डलाई भित्राउने मनसायमा रहेको बताइएको छ । एजेन्सी