विप्लव समूहमा प्रवक्ता प्रकाण्डको यस्तो पकड, महासचिव समेत गुमराहमा प्रकाशित मिति : 10 June, 2019 8:28 am काठमाडौं जेठ २७ / नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको दोस्रो वरीयताका नेता हुन्– खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’। ठीक ढंगले काम नगरेको भन्दै केही समय पार्टीको आन्तरिक निगरानीमा परेका उनी अहिले फेरि प्रवक्ताका रूपमा बाहिर देखापरेका छन्। पार्टीभित्र उनको यस्तो पकड छ कि महासचिव चन्दसमेत गुमराहमा परेका छन्।जसकारण पाटीृमा असन्तुष्टि चुलिँदै गएको छ। भ्रातृ संगठनहरूमा विश्वकर्माको पकड छ। उनले मुख्य नेतृत्वलाई गुमराहमा राखेर एकलौटी ढंगले पार्टीका गतिविधि चलाएको र फरक मत राख्नेलाई सफायाको नीति लिएको एक पोलिटब्युरो सदस्यले बताए। ‘नेतृत्वलाई गुमराहमा राखेर जुनसुकै संगठनलाई भताभुंग बनाएको छन्,’ ती सदस्यले भने, ‘जसले उहाँ ९विश्वकर्मा० बोल्ने आँट गर्छ वा फरक मत राख्छ, या त पार्टी छाड्न बाध्य हुनुपर्छ या कारबाही भोग्नुपर्छ।’ तीन साताअघि विश्वकर्माले पार्टीभित्र पर्याप्त छलफल नगरी राजधानीमा विस्फोटको योजना बनाउँदा क्षति बेहोर्नुपरेको भन्दै अहिले चन्द समूहमा असन्तुष्टि चुलिएको छ। गत वर्ष राजधानी छिर्ने क्रममा पक्राउ परेपछि उनले वार्तामार्फत अघि बढ्ने रणनीति बनाए । यस विषयमा नेतृत्वसँग भने छलफल गरेका थिएनन्। आफ्नै मर्जीमा उनले तत्कालीन पोलिटब्युरो सदस्य पदम राईलाई वार्ताका लागि गोप्य रूपमा परिचालन गरे । नेताहरूका अनुसार विश्वकर्माले आफू पक्राउ परेका बेला सभामुख कृष्णबहादुर महरालाई भेट्न राईलाई पठाएका थिए । सरकारले गठन गरेको सांसद सोमप्रसाद पाण्डे नेतृत्वको समूहसँग पनि वार्ताका लागि केही नेता पहुँचमा पुगे। सरकारी टोलीसँग वार्ताका लागि आफ्ना नेता परिचालन गरेको बारे चन्दलाई विश्वकर्माले सूचना दिएका थिएनन् । चन्दले राई वार्तामा परिचालित भएको थाहा पाएपछि पोलिटब्युरोबाट कारबाही गरे । राईबारे हाइकमान्डलाई विश्वकर्माले सूचना नदिएकै कारण उनी पार्टी छाडेर हिँड्ने अवस्था आएको भन्दै विवाद भइरहेको छ । राई नेकपा प्रवेश गरिसकेका छन् । ‘राईजस्ता कैयौं इमानदार साथी पाखा लाग्दै गएका छन्,’ ती नेताले भने, ‘यसले पार्टीलाई ठूलो क्षति भयो, कार्यकर्ताको मनोबल पनि घट्दै गएको छ।’ विश्वकर्माले विद्यार्थी, मजदुर, युवा, जनस्वास्थ्यकर्मी, पत्रकारलगायत संगठनको नेतृत्वमा आफ्नो इच्छाअनुसारका व्यक्तिलाई ल्याएका छन् । विगतमा सशस्त्र विद्रोहमा सामेल भएकालाई पाखा लगाएर शान्तिवार्तापछि पार्टी प्रवेश गरेकालाई विश्वकर्माले अघि बढाउन खोजेको बुझाइ पार्टीभित्र छ। ‘महासचिवले पार्टीका संगठनदेखि आर्थिक जिम्मेवारी प्रवक्ताज्यूलाई छोड्नुभएको छ,’ एक नेताले भने, ‘त्यसको गलत फाइदा उनले उठाएका छन्।’ गत वर्ष दाङ महाधिवेशनमा युद्धकालीन कार्यकर्ता पाखा लगाएर चिरञ्जीवी ढकाललाई अध्यक्ष बनाइएपछि विद्यार्थी संगठनमा विवाद छ । विश्वकर्माले ढकालमार्फत काठमाडौं विश्वविद्यालय एकाइको मात्र नेतृत्व गरेका आफ्ना छोरा नरेन्द्रलाई सिधै केन्द्रीय कोषाध्यक्ष नियुक्त गर्न लगाएको एक विद्यार्थी नेताले बताए। विद्यार्थीको उपत्यका इन्चार्जसमेत रहेका अध्यक्ष प्रत्याशी दीपेन्द्र चलाउनेलाई भूमिकाविहीन बनाइयो । कनिष्ठलाई नेतृत्व दिइएको भन्दै जनयुद्धकालदेखि विद्यार्थी संगठनमा काम गरेका सुनीता बम, गणेश रैकाललगायत नेता बाहिरिए । विश्वकर्माले पत्रकार संगठनभित्र पनि फरक मत राख्नेलाई पार्टी सदस्यतासमेत नरहने गरी कारबाही गरे। जनयुद्धदेखि पार्टीसँग आबद्ध पत्रकार जन्मदेव जैशी, प्रभात चलाउने, बाबुराम भुसाल, कमल बुढा र सुदीप बर्देवालाई कारबाही गरे । शान्तिवार्तापछि जोडिएका प्रकाश डुम्रेलाई अध्यक्ष र हिम विष्टलाई महासचिव नियुक्त गरे । त्यसपछि असन्तुष्ट पत्रकारले डिल्लीराज रावतको नेतृत्वमा समानान्तर कमिटी गठन गरे । ‘कम्युनिस्ट पार्टीको सिद्धान्तअनुसार स्पष्टीकरण, निलम्बन अनि कारबाही गर्ने चलन छ,’ ती सदस्यले भने, ‘साथीहरूलाई प्रक्रिया नपुर्याई सिधै कारबाही गरियो।’ त्यसैगरी मजदुर संगठनमा उनले मोहन वैद्य र चन्द नफुट्दैदेखि हस्तक्षेप गरेको आरोप छ । मजदुर संगठनका अध्यक्ष अमर झाँक्री रहे पनि उनले प्रेम दर्नालमार्फत अघोषित रूपमा कार्यक्रम सञ्चालन गर्दै आएका छन् । हाल झाँक्रीलाई सरुवा गरिएको छ । संगठन पनि निष्क्रियजस्तै छ । विश्वकर्माले जनस्वास्थ्य संगठनअन्तर्गत बुद्धिजीवी फाँटमा टीका कँडेललाई अध्यक्ष बनाए । अध्यक्ष डम्बर रावललाई पाखा लगाएर उनले कँडेलको नाम सिधै स्थायी कमिटीबाट अनुमोदन गर्न लगाए। ‘बृद्धिजीवी फाँटसमेत चलाउन नसकेका कँडेललाई ल्याएर जनस्वास्थ्यको अध्यक्ष बनाए,’ पार्टीका एक केन्द्रीय सदस्यले भने, ‘कँडेलबाहेक कोही छैन भनेर महासचिवलाई गलत ब्रिफिङ गरेर विश्वकर्माजीले अध्यक्ष बनाए ।’ त्यसपछि युद्धकालमा जनस्वास्थ्यकर्मीको उपाध्यक्षसमेत रहेका प्रमोद योगीले समानान्तर कमिटी गठन गरे । त्यसैगरी दलित मोर्चामा समेत उनले अध्यक्ष डम्बर नेपालीविरुद्ध उचालेर काम गर्न नदिएको ती सदस्यले आरोप लगाए। आजको कान्तिपुर मा यो खबर दीपेन्द्र विष्टले लेखेका छन्।