भूकम्पपछि बदलिएको बारपाक

काठमाडौँ बैशाख १२/ भूकम्पको चौथो वर्ष बित्यो। २०७२ वैशाख र २०७६ वैशाख गोरखाका लागि भिन्न छ। गोरखामात्रै होइन भूकम्पको केन्द्रबिन्दु बारपाकले यसबीचमा काँचुली फेरेको छ। छपक्कै पक्की घर बनेका छन्।

पहिले बारपाकमा एकअर्को घर जान, चिन्न मुस्किल थियो। घरघरै एम्बुलेन्स पुग्ने सडक थिएन। अहिले बस्तीको बीच भाग भएर सडक खुलेको छ। पुरानो ढुंगामाटोको विद्यालय थियो, अहिले विद्यालय भवन सिमेन्टको पक्की बनेको छ।

चार वर्ष टहरामा पढेका अब पक्की भवनमा पढ्दैछन्। यो भूकम्पले ल्याएको अवसर हो। सदरमुकामबाट बारपाकसम्म जाने ४७ किलोमिटर सडक कालोपत्रे हुँदैछ। एक दिन पुरै खर्चेर सदरमुकाम आउने बारपाकी अचेल चार घन्टामै आउँछन्। कालोपत्रे सकियो भने यो समय अझ दुई घन्टामा झर्ने पक्का छ।

कालोपत्रे गर्ने ठेक्का भइसक्यो। सडक आयोजनाले समयमै नगर्दा काममा भने ढिलाइ भएकै छ। खानेपानी आयोजना एउटा गैरसरकारी संस्थाले निर्माण गरेर घरघरै धारा जोडिदिएको छ। आफैं बिजुलीमा अत्मनिर्भर रहेको बारपाकमा भूकम्पपछि विद्युत् ध्वस्त भयो।

गाउँ नै उज्यालो बनाउने जेनेरेटर बारपाकीले सहयोग पाए। संघ–संस्थाले खानेपानी, सरसफाइ, राहत वितरण, आंशिक रोजगारी, तालिम धेरै दिए। यो फाइदा बारपाकीले पनि लिए।

एकनासे ढुंगाले छाएका, बढीमा दुईतले घर थिए। अहिले गगनचुम्बी चार–पाँच तलेसम्म घर बनेका छन्। रड, सिमेन्ट, इँट्टा प्रयोग गरिएको छ। पहिलेभन्दा बलिया घर ठडिए। अब विपत्ति आइहाल्यो भने पनि भूकम्प थेग्ने वा पहिले जस्तो घरमै पुरिएर ज्यान गुमाउने अवस्था नआउन सक्छ। घर बनाउने सिकर्मी, डकर्मी तालिम लिएर बेरोजगार महिला, पुरुष स्वरोजगार बनेका छन्।

केन्द्रबिन्दु बारपाकमा निर्माण सामग्री माग धेरै भएपछि ट्याक्टर किन्ने, भाडामा लगाउनेहरु बढेका छन्। चालक थपिए। यो सबै रोजगारीमा स्थानीयले प्राथमिकता पाएका छन्। मानिसको चहलपहल पहिलेभन्दा बढेको छ। होटेलहरु थपिएका छन्।

पहिले होमस्टे र एक–दुई मात्रै होटेल थिए। अहिले दर्जनभन्दा बढी होटेल छन्। स्थानीयले घरमै बसेर व्यापार गरेका छन्। परिवारमात्रै बस्न मिल्ने घर हुँदा होटल चलाउन नसकेका मानिस भूकम्पपछि पक्की घर बनाएर होटल व्यवसायमा लागेका छन्। विपत्तिले विनाश मात्रै होइन विकास पनि ल्याएको छ।

सदरमुकामबाट बारपाकसम्म जाने सडकमा चारवटा पुल जाइकाले निर्माण गरिदियो। काम सुरु गरेको डेढ वर्षमा पुल तयार भए, जुन अन्तर्राष्ट्रिय गुणस्तरका छन्।

पुल नबनेको भए बारपाकी अहिले पनि बर्खामा हिँडेर आउजाउ गर्नुपथ्र्यो। राङरुङ खोलामा ट्याक्टर समेत तार्न सक्ने अवस्था थिएन, जहाँ अहिले पक्की पुल छ। व्यक्तिगत घर मात्रै होइन, वडा कार्यालय पक्की भवनमा छ।

प्रहरी चौकी पनि पक्की बन्दैछ। भूकम्पको केन्द्रबिन्दु नभएको भए, बारपाकले २०७२ वैशाख १२ को विपत्तिको सामना नगरेको भए यो गतिको विकास देख्न अझै वर्षौं कुर्नुपथ्र्यो। आजको नागरिक दैनिकमा गोरखाबाट नरहरि सापकोटाले यो खबर लेखेका छन्।


प्रतिक्रिया दिनुहोस्