अझै हटेन मनपरेकी युवतीलाई जबर्जस्ती तानेरै विहे गर्ने प्रथा प्रकाशित मिति : 17 April, 2019 7:31 am काठमाडौँ ४ बैशाख ,/‘केही दिनअघिको घटना हो, राति साढे ९ जति बजेको थियो होला । बहिनी र म गफ गर्दै सुतिरहेका थियौं । एक्कासि कसैले ढोका ढक्ढक्यायो । हामी आत्तियौं । मैले डराई–डराई ‘को हो’ भनें।बाहिरबाट केटा मान्छेले ‘म हो, रक्सी खान आएको’ भन्यो । ‘हाम्रो त रक्सी बेच्ने घर होइन’, भनें । ‘माथिल्लो घरको दाइ हो क्या म, ढोका खोल्’ भन्यो। अनि मैले बिस्तारै ढोका खोलेर हेरेको मात्र थिएँ, क्य्राक गाउँको केटा रहेछ । घरभित्र छिर्यो र मेरी बहिनीलाई जबरजस्ती तानेर बाहिर लग्यो । बाहिर उसको गाउँका केटा टन्नै रहेछन्। त्यसपछि मैले आमा र भाइलाई बोलाएँ । हामीले यतातिर, उनीहरूले उतातिर, एकछिनसम्म बहिनीलाई तानातान भयो । भर्खरसम्म सँगै सुतिरहेकी बहिनीलाई उनीहरूले तानेर लगे । आमा र भाइ धेरै टाढासम्म पछिपछि गएर केके समझदारी गरेर बहिनीलाई छुटाएर ल्याए । अहिले बहिनी भागेर काठमाडौं गएकी छ । उतै काम खोज्दै होली।’ ह्यास ट्याग मीटु प्रयोग गर्ने दुनियाँलाई यो एकादेशको कथा जस्तो लाग्न सक्छ। तर, यो राजधानीबाट १४२ किलोमिटर पर गोरखाका ५० देखि ५५ कोस टाढा रहेका हिमाली गाउँको ताजा घटना हो। लामो समय लेबनान बसेर फर्केकी सोही ठाउँकी अर्की किशोरीलाई पनि केही समयअघि यसैगरी स्थानीय एक युवाले तानेर लगे । उनी उम्केर भाग्न सकिनन्। केही दिनसम्म घरभित्रै थुनिएर बस्नुपर्यो। अनि दाजुभाइको साझा दुलही भइन् । घरबाट भाग्ने मौका पाएपछि काठमाडौं गइन् । उतैबाट विदेश लागिन्। उनीहरूको मात्र पनि होइन, उत्तरी गोरखाका दुई दर्जन गाउँबस्तीका चेलीसँग यस्ता दर्दनाक कथाव्यथा छन् । चुमनुब्री गाउँपालिकाअन्तर्गत साबिकका बिही, प्रोक, ल्हो, सामागाउँ, सिर्दिबास क्षेत्रमा जबरजस्ती तानेर बिहे गर्ने परम्परा पुस्तौंदेखि कायम छ। चिनेको होस् वा नचिनेको होस्, मन परेको होस् वा नपरेको होस्, केटाले मन पराएपछि जबरजस्ती तानेर दुलही बनाउने चलन रहेको वडा नम्बर ४ का अध्यक्ष पेमाडुण्डुप लामा बताउँछन्। ‘यस्तो चलन बिहीमा अल्लि बढी छ । प्रोकमा पनि छ । अलिअलि त ल्हो, सामागाउँ र सिर्दिबासमा पनि छ’, उनले भने, ‘यो राम्रो चलन होइन, हटाउनुपर्छ ।’ यसबारे आफूले जनचेतना जगाउने उनको भनाइ छ। किशोरी असुरक्षित युवाहरूले तानेर जबरजस्ती दुलही बनाउने ९कुं० प्रथाका कारण यस भेगका किशोरी असुरक्षित महसुस गर्छन्। मञ्जुरीबिना जबरजस्ती तानेर लाने र त्यसलाई ‘मौलिक परम्परा’ ठानेर नयाँ पुस्ताले पनि चुपचाप सहिदिँदा महिलाहरू आफ्नै घर, बाटो, पानीघट्ट, खेतबारीलगायत जहाँतहीं असुरक्षित रहेको शिक्षिका छिरिङ याङ्जोम बताउँछिन्। ‘घरमा बसिरहेको बेला होस् वा खेतबारीमा काममा जाँदा, पानीघट्टमा जाँदा, गुम्बामा जाँदा, मेलाजात्रातिर जाँदा जहाँबाट, जतिबेला पनि तान्न सक्छन्’, उनी भन्छिन्, ‘देशको नियमकानुन पनि लाग्दैन । त्यसैले हाम्रो गाउँका छोरीचेलीलाई कहीं पनि सुरक्षा छैन।’ तल्लो ९सहरी० भेगमा जस्तो महिला अधिकारको कुरा गाउँमा नरहेको किशोरी कुन्साङ ल्हामुको भनाइ छ । ‘यो तान्ने चलनचाहिँ पहिलेदेखि चलिआएको हो, तोड्न मिल्दैन भनेर बुवाआमाले पनि भन्नुहुन्छ । केटीहरूले पनि मान्नैपर्ने हुन्छ’, उनी भन्छिन्, ‘आमाबुवाले जबरजस्ती गरेर पनि तान्ने केटासँगै पठाइदिन्छन् । यहाँ त मानवअधिकार, महिला अधिकारको कुरा कहाँ छ ररु ’ केटाको र पुरानो चलनको फन्दामा परेका युवती बेस्सरी रुने उनी बताउँछिन्। संस्कृति पनि विकृति पनि तानेर विवाह गर्ने चलनलाई संस्कृतिका रूपमा पनि लिन सकिने यस क्षेत्रका पढेलेखेका युवाको भनाइ छ । ‘हाम्रो गाउँमा कि मागी विवाह हुन्छ, कि तानी विवाह हुन्छ’, प्रोकका निमा लामा भन्छन्, ‘प्रेम विवाह गर्ने चलन छैन । त्यसैले मिलेमतोमै केटाले ताने जस्तो गर्ने, केटीले नमानेको जस्तो गर्ने चलन छ।’ तानेर बिहे गर्ने चलन कायम राख्न पनि तानेको अभिनय गर्ने गरेको उनको भनाइ छ । ‘केटा र केटीको माया प्रेम बसेको हुन्छ । बाआमासँग कुरा गर्दा मिल्दैन अनि केटाले तानेर लगे जस्तो गर्ने चलन पनि छ’, उनी भन्छन्, ‘यस्तो अवस्थामा देख्नेलाई चाहिँ जबरजस्ती गर्यो जस्तो पर्छ । तर, सहमतिमै भएको हुन्छ।’ परापूर्वकालदेखि मान्दै आएको परम्परालाई सिरानी हालेर कतिपयले जबरजस्ती तान्ने गरेको उनी स्वीकार गर्छन् । ‘कतिपय केटाहरूले चाहिँ परम्पराको बद्नाम पनि गरेका छन्’, निमा भन्छन्, ‘कुनै केटी आफूलाई मन पर्यो भने उसले आफूलाई मन नपराएको भए पनि तान्दिने चलन छ । योचाहिँ विकृति हो।’ कानुनमा के छरु मञ्जुरीबिना विवाह गर्ने–गराउनेलाई कानुनले दण्डजरिबानाको व्यवस्था गरेको छ । मुलुकी देवानी संहिता ऐन २०७४ को दफा ७२ मा महिला वा पुरुष जो कसैको मञ्जुरी नभई भएको विवाह बदर गर्न सक्ने उल्लेख छ। त्यस्तै मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १७२ ले मञ्जुरीबिना विवाह गर्न नहुने र कसैले गरे–गराएको छ भने त्यो व्यक्तिलाई दुई वर्षसम्म कैद र २० हजार रुपैयाँसम्म जरिबाना हुन सक्ने व्यवस्था छ। मुलुकी अपराध संहिता ऐन २०७४ कै दफा ३२ ले मञ्जुरीबिना विाह गरेमा क्षतिपूर्तिको व्यवस्थासमेत गरेको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा यो खबर गोरखाबाट शिव उप्रेतीले लेखेका छन्।