सिंहदरबारमा किन सँगै भएनन् पूर्वएमाले र पूर्वमाओवादी

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकतापछि नेपाल कम्युनिस्ट पार्टी नेकपा घोषणा भएको तीन महिना बितिसकेको छ।
तर, सिंहदरबारमा नेकपा संसदीय दलको कार्यालय भने अझै एउटै हुन सकेको छैन। एकै कार्यालयको अभावमा पूर्वएमाले र पूर्वमाओवादीका सांसद सिंहदरबारमा एकै ठाउँमा भेटिँदैनन् ।

संघीय संसद् सचिवालयले एकतापछि बनेको नेकपाको संसदीय दलका लागि भवन अभाव रहेको बताएको छ। संसद् सचिवालय भवन नम्बर २ को चौथो तलामा यसअघि माओवादी केन्द्रको संसदीय दलको कार्यालय थियो । पूर्वएमालेको भने कानुन मन्त्रालय र रेडियो नेपालको बीचमा कांग्रेस संसदीय दलको कार्यालयसँगै जोडिएको थियो । दुवैतिर नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को बोर्ड राखे पनि पूर्वएमाले सांसदहरू पूर्वमाओवादी दलको कार्यालयमा जाँदैनन् ।

त्यस्तै, पूर्वमाओवादीका सांसदहरू पनि पूर्वएमालेको संसदीय दलको कार्यालयमा भेटिँदैनन् । नेकपा संसदीय दलका नेता केपी शर्मा ओली र उपनेता सुवास नेम्वाङको कार्यकक्ष पूर्वएमालेको संसदीय दलको कार्यालयमै तोकिएको छ । उता, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख सचेतक देव गुरुङको कार्यकक्ष पूर्वमाओवादीकै संसदीय दलको कार्यालयमा छ ।

महिला मन्त्रालयले भवन दिएन

नेकपा संसदीय दलको कार्यालयका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय रहेको भवन वा यसअघिको शान्ति मन्त्रालय रहेको भवन उपयुक्त रहने ठानेर

सचिवालयले सरकारसँग प्रस्ताव गरेको थियो । पहिले शान्ति मन्त्रालय रहेको भवन अहिले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले नै प्रयोग गर्दै आएको छ । महिलामन्त्री तथा कर्मचारीले पनि आफ्नो मन्त्रालयको भवन दिन संसद् सचिवालयसँग अस्वीकार गरेका छन् । मन्त्रालयकी सूचना अधिकृत विनिता भट्टराईले प्रस्ताव आएको, तर आफूहरूले अस्वीकार गरेको बताइन् । ‘प्रस्ताव आएको थियो । अब महिला, बालबालिका मन्त्रालय सर्दैन । यो भवन ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिमैत्री रहेकाले यही नै हाम्रो मन्त्रालयका लागि उपयुक्त हुन्छ,’ उनले भनिन् । संसद् सचिवालय स्रोतले पनि महिला, बालबालिकामन्त्रीले मन्त्रालय सार्न अस्वीकार गरेकाले हाल नेकपाको दलको कार्यालय एकै ठाउँ बनाउने प्रयास यथास्थितिमा रहेको बतायो ।


प्रतिक्रिया दिनुहोस्