हातपात गर्ने कर्मचारी अब सीधै बर्खास्त हुने

काठमाडौ‌ भदौ ९, / कर्मचारी बौद्धिक श्रमिक हुन् । बुद्धिले काम गर्नुपर्ने । तर बेलाबखत उनीहरु नै आपसमा हातपात गर्छन्। त्यसरी हातपात गर्ने कर्मचारी अब भने सीधै बर्खास्त हुनेछन्। प्रस्तावित संघीय निजामती सेवा विधेयकमा हातपात गर्ने कर्मचारीलाई ‘भविष्यमा सरकारी सेवामा अयोग्य नहुने’ गरी बर्खास्त गर्ने प्रावधान राखिएको छ ।

ट्रेड युनियनको आडमा तल्लो तहका कर्मचारीले माथिल्लो तहका कर्मचारीलाई हातपात गर्ने र धम्काउने क्रम बढेपछि नियन्त्रण गर्न सरकारले कडा कानुनी व्यवस्था गर्न लागेको हो। केही समयअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवासम्बन्धी विवादमा ट्रेड युनियनका नेताले उपसचिवलाई दुव्र्यवहार गरेका थिए।

ट्रेड युनियन यथावतराजनीतिक दलनिकट ट्रेड युनियन यथावत् रहने भएका छन् । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले विधेयकमा दलनिकट ट्रेड युनियन यथावत् राख्नुपर्ने राय दिएको छ। मन्त्रालयले ट्रेड युनियनमा केही सुधार गरी यथावत् राख्नुपर्ने रायसहित विधेयक बिहीबार सामान्य प्रशासन मन्त्रालयमा पठाएको हो।

कानुनको परामर्शसँगै संघीय प्रणालीमा राजनीतिक दलनिकट ट्रेड युनियनको अस्तित्व यथावत् रहने निश्चितप्रायः भएको छ । सामान्यले भने विधेयकमा युनियन खारेजीको प्रस्ताव गरेको थियो। कानुन मन्त्रालयका प्रवक्ता रमेश ढकालले ट्रेड युनियन दर्ता भएर कानुनी अस्तित्व रहेकाले निरन्तरता दिनुपर्ने सुझाव दिएको जानकारी दिए।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा सागर पण्डितले यो खबर लेखेका छन्।


प्रतिक्रिया दिनुहोस्