के हो गुठी विधेयक ? अब के होला आन्दोलन ?

काठमाडौं ३ असार / सरकारले डेढ महिनाअघि ‘गुठीसम्बन्धी कानुनलाई एकीकृत तथा संशोधन गर्न बनेको विधेयक’ संसद्मा दर्ता गराएसँगै उपत्यका र मुलुकभरका गुठियार, संस्कृतिकर्मी र सम्पदा संरक्षण अभियन्ता आन्दोलित छन् ।

उनीहरुले यो विधेयक जस्ताको तस्तै पारित भए गुठीका जग्गा सखाप हुने भन्दै चिन्ता जनाइरहेका छन् भने सरकारी पक्षले किसानका समस्या सम्बोधन गर्न विधेयक ल्याएको दाबी गरेको छ । खासमा के हुन् गुठीका गुत्थीरु आजको कान्तिपुर दैनिकमा दामोदर न्यौपानेले गुठीका समस्या यसरी केलाएका छन्ः

के हो गुठी ?
संस्कृत शब्दको ‘गोष्ठी’ बाट नेपाल भाषा र नेपाली भाषामा गुठी भएको हो । यसको अर्थ गोष्ठी वा समूह हो । नेपालीको सन्दर्भमा धार्मिक, सामाजिक कार्य चलाउन छुट्याइएको जमिनलाई नै गुठी भनेर बुझ्ने गरिएको छ ।

त्यस्तो जग्गाजमिन चलाउन तोकिएका व्यक्ति गुठियार हुन् । गुठियारलाई दानपत्र, शिलालेख, लालमोहर, सनदलगायतबाट गुठीको प्रबन्ध गर्ने अधिकार दिइएको हुन्थ्यो । अहिलेका गुठियार यही प्रक्रियाबाट आएका हुन् ।

गुठीको इतिहास झन्डै पन्ध्र सय वर्ष पुरानो छ । लिच्छविकालदेखि नै यो गुठी राख्ने चलन चलेको मानिन्छ ।

गुठी मुख्यतः दुई प्रकारका छन्– राजगुठी र निजी । राजाहरूले राखेका जति राजगुठी हुन् । राजगुठीभित्र पनि छुट र अमानत गरी दुई प्रकार छन् । मन्दिरको पर्व, पूजा चलाएर बाँकी रहेको आम्दानी खाने गरी दिइएको छुट गुठी हो ।

गुठियारले पूजा, पर्व चलाउने तर गुठीको आयस्ता उपयोग गर्न नपाउने गरी दिइएको चाहिँ अमानत हो । अमानतका गुठियारले गुठी चलाएबापत खान्गी ९तलब सुविधा जस्तै० पाउँछन् । राजाबाहेक विभिन्न दाताले राखेका गुठी निजी गुठी हुन् ।

मुलुकका विभिन्न ठाउँमा मन्दिर, पाटी, सत्तल, पुल, इनार, कुलो, सार्वजनिक स्थलजस्ता सम्पदा बनाएर त्यसलाई पछिसम्मै व्यवस्थापन गर्न राखिएका जग्गा निजी गुठीअन्तर्गतका हुन् । यस्ता गुठीमा व्यक्तिगत, पारिवारिक, सम्प्रदाय र सामाजिक गुठी छन् । श्राद्ध गुठी व्यक्तिगत र देवाली गुठी पारिवारिक हुन् ।

देशभर २ हजार ३ सय ३५ वटा राजगुठी छन् । गुठी संस्थाका अनुसार निजी गुठी ५ हजारभन्दा बढी भएको अनुमान छ । छुट गुठीहरू भने राजगुठीमा परिणत भइसकेकाले अस्तित्वमा छैनन् ।

राजगुठीअन्तर्गत ७ सय १७ मन्दिर छन् । ६ सय ४७ पाटी, पौवा, १ सय ९२ फूलबारी र १ सय ५९ पोखरी छन् । अरू मठ मन्दिर निजी गुठीबाट सञ्चालित छन् । प्यूठानको स्वर्गद्वारी सबैभन्दा बढी निजी गुठी भएको मन्दिर हो । निजी गुठीमा पनि धेरै मठ मन्दिर छन् ।

अहिले भइरहेको के हो ?
राजगुठी मासिँदै गएको सन्दर्भमा सर्वोच्चले गुठीका जग्गा नचलाउन आदेश दिएसँगै भूमाफियाहरू किसानको अधिकारका नामबाट सलबलाउन थालेका थिए । सरकारमाथि गुठी जग्ग्गामा मोहियानी पाउनुपर्ने दबाब तीव्र थियो ।

यसै पृष्ठभूमिमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले राष्ट्रिय सभामा ‘गुठी कानुनहरू एकीकृत तथा संशोधन गर्न बनेको विधेयक’ दर्ता गराइन् ।

विधेयकका विभिन्न दफामा संस्कृतिकर्मी, सम्पदा संरक्षणका अभियन्ता र गुठियारहरूको चर्को विरोध छ । विधेयकमा गुठियारको हक अधिकार प्राधिकरणमा सार्ने व्यवस्था गरिएको छ ।

तैनाथी जग्गामा घर बनाएको भए रैतानी गर्ने व्यवस्थाप्रति पनि सरोकारवालाको आपत्ति छ । निजी गुठीलाई सार्वजनिक गुठीमा परिणत गर्ने, गुठी संस्थान खारेज गरेर प्राधिकरण बनाउने, निजी गुठीलाई प्राधिकरणअन्तर्गत ल्याउने, मन्दिरलाई आम्दानीका आधारमा वर्गीकरण गर्ने जस्ता व्यवस्थाले संस्कृति, सम्पदा र धर्म परम्परा सखाप हुने उनीहरूको ठहर छ।


प्रतिक्रिया दिनुहोस्