लिम्बू सङ्ग्रहालय वस्थापन, प्रचारप्रसारको अभावले जीर्ण बन्दै प्रकाशित मिति : 18 May, 2019 5:12 pm ताप्लेजुङ / सिरिजङ्घा गाउँपालिकास्थित मामाङ्खेमा स्थापित लिम्बू सङ्ग्रहालयको उचित व्यवस्थापन र प्रचारप्रसार हुनसकेको छैन। लिम्बू समुदायको पहिचान झल्काउने ऐतिहासिक सामग्री सङ्कलन गरी विसं २०५७ मा स्थापना गरिएको उक्त सङ्ग्रहालय प्रचारप्रसारको अभावमा गुमनाम जस्तै बनेको छ। सङ्ग्रहालयको उचित व्यवस्थापन हुन नसकेकाले जीर्ण बन्दै गएको छ। “लिम्बू समुदायमा आधारित ऐतिहासिक सामग्री सङ्कलन गरेर सङ्ग्रहालय स्थापना गर्यौ तर पर्याप्त बजेट अभावमा यसको थप व्यवस्थापन र ग्रामीण क्षेत्रमा रहेकाले खासै प्रचारप्रसार हुन नसक्दा गुमनाम जस्तै बन्यो,” सङ्ग्रहालय व्यवस्थापन समितिका सदस्य टीका मावोले भने। यातायातको पहुँच नहुँदा अवलोकनकर्ता समेत कमै मात्र पुग्ने गरेका उनको भनाइ छ। “यातायातको पहुँच छैन, पैदल हिँडेर अवलोकनकर्ता आइपुग्दैनन्, प्रचारप्रसार पनि छैन,” उनले भने। जिल्लाका अधिकांश ठाउँमा सडक पुगेको भए पनि मामाङ्खेमा भने पुग्नसकेको छैन। यहाँसम्म सडक निर्माण र प्रचारप्रसार भएमा आन्तरिक तथा बाह्य पर्यटक बढ्ने स्थानीयबासीको अपेक्षा छ। व्यवस्थापन समितिले सङ्ग्रहालयको प्रवर्द्धनका लागि गुरुयोजना बनाएर काम गर्ने तयारी गरेको छ । यता सङ्ग्रहालयको प्रवर्द्धनका लागि केन्द्र, प्रदेशका साथै स्थानीय सरकारसँग समन्वय गरेर अघि बढ्ने सांसद योगेश भट्टराईले बताए। लिम्बू समुदायको पहिचान र इतिहासलाई संरक्षण गर्ने कुरामा कुनै कञ्जुस्याइँ नहुने उनको भनाइ छ। उक्त सङ्ग्रहालयमा विसं १८१४ र १८३१ मा पृथ्वीनारायण शाहले लिम्बूसँग गरेको सम्झौता र युद्धमा प्रयोग गरिएको ढाललाई संरक्षण गरेर राखिएको छ । सय वर्षअघि फेदाङ्वा र विजुवाहरूले प्रयोग गर्ने जामा, पगरी पनि सो सङ्ग्रहालयमा हेर्न पाइन्छ। यसैगरी लोप हुने अवस्थामा पुगेका लिम्बू जातिको जन्मदेखि मृत्युसम्मका संस्कारमा प्रयोग हुने दुई सय बढी सामग्रीसमेत उक्त सङ्ग्रहालयमा राखिएको छ। रासस