विकासको काममा मन्त्री लालबाबुको लगाव, फेरिंदै मोरङको मुहार प्रकाशित मिति : 27 June, 2018 2:55 pm काठमाडौं / कुरा भन्दा काम गर्ने नेताको छवी बनाएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित अहिले आफ्नो निर्वाचन क्षेत्रका नागरिक समक्ष गरेका प्रतिवद्धता पूरा गर्ने काममा सक्रिय छन् । पाँच बर्षभित्र आफ्ना सबै प्रतिवद्धता पूरा गरेर अर्को निर्वाचनमा विकासको फेहरिस्ता बोकेर जाने योजनासहित मन्त्री पण्डित अहिले आफ्नो निर्वाचन क्षेत्रको आर्थिक, सामाजिक, साँस्कृतिलगायत सबैखालका विकासमा सक्रिय रहेको उनका स्वकीय सचिव वसिम आलमले बताएका छन् । पण्डितको अगुवाईमा मोरङ क्षेत्र नम्बर–६ ले विकास निर्माणमा फड्को मार्न थालेको पनि आलमले दावी गरे । पण्डितले बिराटनगर पुष्पलाल चोकदेखि बुढीगंगा गाउँपालिकाको कोहलपुर हुँदै गछियाँसम्म पुग्ने २२ किलोमिटर सडक चाँडै शिलान्यास गर्दैछन् । बुढीगंगाकै निमुवादेखि सरोचिया महेन्द्र मोरङ क्याम्पस पछाडिबाट बग्ने पुरै नहरको सडकलाई कालोपत्रे गर्ने योजना मन्त्री पण्डितले बनाएका छन् । यस्तै समग्र बिराटनगरको दृष्यावलोकन गर्न मिल्ने भ्यूटावर निर्माण गर्ने तयारी पनि अन्तिम चरणमा पुगेको जनाइएको छ । पण्डितले निर्वाचनका दौरानमा भ्यूटावर निर्माणलाई उच्च प्राथमिकता दिने बताएका थिए । सुन्दरहरैंचा नगरपालिका–५ को फोकल्याण्ड टापुमा झोलुङ्गे पुल निर्माणको काम अघि बढिसकेको छ । पुलले टापुका नागरिकलाई बर्षायाममा हुने डुबानबाट मुक्त गराउने स्थानीय बताउँछन् । यस्तै बुढीगंगाको सखुवाटोकीमा पनि झोलुङ्गे पुल निर्माणको काम शुरु भइसकेको छ । यसले बुढीगंगा र सुनसरीको दुहवीलाई जोड्ने छ । सुन्दरहरैंचा–३ स्थित लोचनी सडक खण्ड अन्तर्गत रहेको पुलदेखि पश्चिम गछिया खोलामा तटबन्ध निर्माणको काम पनि शुरु भएको छ । सुन्दरहरैंचा–४ कै सरिगुवा टोल पश्चिम बुढीगंगा खोलामा पनि तटबन्ध निर्माण थालिएको आलमले जानकारी दिए । सुन्दरहरैंचा–५ स्थित फोकल्याण्ड टापुमा तटबन्धको काम पनि आरम्भ भएको छ । सुन्दरहरैंचा–६ स्थित स्कुल डाँडा टोल पूर्व पनि तटबन्ध निर्माण शुरु भएको छ । बुढीगंगा–२ स्थित मुस्लिम टोल उत्तरमा बाँध निर्माण थालिएको छ । मन्त्री पण्डितले केहि दिनअघि मात्रै बिभिन्न विद्यालयका ३१८ विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई कपडा, जुत्ता, ब्याग, कापी, कलमलगायतका समाग्री वितरण गरेका छन् । त्यस बाहेक दृष्टिबिहीनहरुलाई सेतो छडी वितरण भइसकेको छ भने ६० जना अपाङ्गता भएका व्यक्तिहरुलाई ह्विल चियर निर्माणको काम भइरहेको स्वकीय सचिव आलम बताउँछन् । सुन्दरहरैंचास्थित शेषनारायण धाम क्षेत्रमा पक्की पुलको निर्माण पनि आरम्भ हुँदैछ । मन्त्री पण्डितले आउँदो पाँच बर्षभित्र मोरङ क्षेत्र नम्बर–६ ले मुहार फेर्ने दावी गरेका छन् । अघिल्लो पटक सामान्य प्रशासन मन्त्री हुँदा डीभि र पीआरधारी कर्मचारीलाई तह लगाएपछि मोरङका लालबाबु पण्डितले राष्ट्रिय राजनीतिमा उचाई प्राप्त गरेका थिए । २०७४ सालको निर्वाचनमा कांग्रेस नेता शेखर कोइरालालाई पराजित गरेका पण्डित अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री छन् । स्थानीय तहमा कर्मचारी खटाएर नागरिकको मन जितेका छन् ।