अमेरिकाले बनायो चामलको गेडोभन्दा सानो कम्प्युटर

काठमाडौं / अमेरिकाको मिशिगन विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले संसारको सबभन्दा सानो कम्प्युटर बनाएको दाबी गरेका छन् । यो डिभाइस जम्मा ०.३ मिलिमिटर चौडा छ अनि चामलको गेडोभन्दा पनि सानो छ ।

सिन्ह्वा समाचार संस्थाको एक रिपोर्टअनुसार, परम्परागत कम्प्युटरभन्दा फरक यो माइक्रोडिभाइसमा स्विच हुनेबित्तिकै डाटा स्टोर गर्न सक्दैन जबकि परम्परागत कम्प्युटर स्विच अफ हुँदा प्रोग्राम र डाटा सेभ गर्न सक्छन् । अनुसन्धान टोलीका प्रमुख तथा इलेक्ट्रिकल एन्ड कम्प्युटर इन्जिनीयरिङका प्राध्यापक डेभिड ब्लाले भने, ‘यसलाई कम्प्युटर भन्ने कि नभन्ने हामीलाई थाहा छैन । तर यसले कम्प्युटरका रूपमा न्यूनतम जति काम गर्नुपर्ने हो गर्न सक्छ ।’

यो नयाँ माइक्रोकम्प्युटिङ डिभाइसको नाम मिशिगन माइक्रो मोट हो र यसमा –याम र फोटोभोल्टिक्सबाहेक प्रोसेसर र वायरलेस ट्रान्समिटर र रिसिभर पनि छ । यो डिभाइसले देखिने प्रकाशका रूपमा डाटा रिसिभ र ट्रान्समिट गर्छ । यसको बेस स्टेसन पावर र प्रोग्रामिङका लागि लाइट उपलब्ध गराउँछ र डिभाइसले डाटा रिसिभ गर्छ । तापक्रम थाहा पाउने गरी बनाइएको यो डिभाइस तापक्रमलाई समयको अन्तरालमा विद्युतीय प्लसका रूपमा परिणत गर्छ । बेस स्टेसनले पठाएको समयान्तरलाई चिपले नोट गर्छ अनि त्यसपछि त्यसलाई तापक्रममा परिणत गर्छ ।

त्यसैले यो कम्प्युटर सेल क्लस्टर जस्ता साना ठाउँमा तापक्रम पत्ता लगाउँछ र त्यसमा जम्मा ०.१ डिग्री सेल्सियसभन्दा कमको अन्तर हुन्छ । यो डिभाइसको उपयोग फरक फरक कामका लागि गरिन्छ । कोशिका विज्ञान र क्यान्सरको उपचारमा यसो प्रयोग हुन्छ । उक्त विश्वविद्यालयको रेडियोलोजी र बायोमेडिकल इन्जिनीयरिङ प्राध्यापक गेरी ल्युकरले भने, ‘यी तापक्रम सेन्सरहरू एकदम सानो र जैविकअनुकूलन भएकाले हामीले तिनलाई क्यान्सर लागेको मुसामा हाल्यौं । हामीले सामान्य कोशिकाका तुलनामा ट्युमरभित्र हुने तापक्रम परिवर्तनलाई विचार ग–यौं । यसबाट पनि उपचारले कति फाइदा गरिरहेको छ भन्ने थाहा हुन्छ ।’

-एजेन्सी


प्रतिक्रिया दिनुहोस्