अस्थायी शिक्षकको पटक पटक स्थगित हुँदै आएको परीक्षा मिति तय प्रकाशित मिति : 20 June, 2018 10:07 pm भक्तपुर, असार ६,/ पटक पटक स्थगित हुँदै आएको अस्थायी शिक्षकको परीक्षा मिति तोकिएको छ । यही असार २९ गते निम्न माध्यमिक र माध्यमिक तहको तथा ३० गते प्राथमिक तहको परीक्षा हुने गरी शिक्षक सेवा आयोगको बुधबार बसेको बैठकले उक्त निर्णय गरेको अध्यक्ष ताना गौतमले जानकारी दिए । पहिले परेको आवेदनकै आधारमा यस अघि नै तोकिएका केन्द्रमा परीक्षा हुने उनले बताए । परीक्षाका लागि प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमा गरी २२ हजार ७६ पदका लागि २३ हजार २ सय ८६ अस्थायी शिक्षकको आवेदन परेको थियो । तीन वर्गमा नौ वटा विज्ञापन भएको छ । जस मध्ये २०४९ साल पुस २० गते अघिका अस्थायी शिक्षक, सोही बर्षको पुस २१ गते पछि २०६१ साउन २१ गते सम्म नियुक्त अस्थायी शिक्षक र ०६१ साउन २२ गते देखि संविधान जारी हुनु अघिल्लो दिन सम्म नियुक्त अस्थायी शिक्षकका लागि विज्ञापन भएको हो । शिक्षा ऐनको नवौं संशोधनले प्रतिष्पर्धाको दायर फराकिलो बनाएर अयोग्यलाई पनि शिक्षक बनाउने भन्दै उक्त परीक्षाको विरोध हुँदै आएको थियो । शिक्षा ऐनमै समेटिएको ब्यवस्था अनुसार विज्ञापन भएको गौतमले बताए । अब कसैको विरोध नहुने र तोकिएकै समयमा परीक्षा हुने अपेक्षा गरेको उनले बताए । ‘विज्ञापन कसैलाई अनुकल लाग्ला कसैलाई प्रतिकुल लाग्ला तर जब खेलको मैदानमा प्रवेश गरिसके पछि खेलाडीले नियम मान्दिन भन्न त कहाँ पाहिन्छ र ?’ उनले भने, ‘अहिले वल्र्ड कप फुटवल चलिरहेको छ, त्यहाँ कुनै खेलाडीले खेल शुरु भएको तीन मिनेटमै रेड कार्ड पायो भने खेल त स्थगित हुँँदैन नी, नियम तय भएपछि त्यसलाई त मान्नै पर्यो, हामीले पनि यस अघि नै तय भएको नियमका आधारमा विज्ञापन गरेका हौं ।’यस अघि ४ पटक सम्म स्थगित उक्त परीक्षा पछिल्लो पटक गत चैत १३ गते परीक्षा हुन ८ दिन अघि प्रधानमन्त्रीको ठाडो निर्देशनमा स्थगित गरिएको थियो । आन्तरिक परीक्षाले नयाँलाई प्रतिष्पर्धाको ढोका बन्द गरेकोले खुला प्रतिष्पर्धाबाट शिक्षक छनोट गर्नुपर्ने भन्दै शिक्षाविद् तथा विद्यार्थीले विरोध गरेका थिए । आन्तरिक र खुला विज्ञापन संगसंगै गरी शिक्षक पदपूर्तिलाई व्यवस्थापन गर्नु पर्ने भन्दै उतिखेरको विज्ञापनको विरोध भएको थियो । आयोगले यस अघि नै खुल्ला विज्ञापन गरिसकेको छ ।