झन् कमजोर बन्दै देउवा

काठमाडौं / कांग्रेसभित्र नेतृत्व परिवर्तनको मुद्दा उठिरहेका बेला त्यसैलाई बल पुग्ने गरी पार्टीमा सभापति शेरबहादुर देउवाको प्रभाव खुम्चिन थालेको छ । हालै सम्पन्न तीन भ्रातृसंस्थाको निर्वाचन परिणामले देउवाको प्रभाव घट्दै गएको पुष्टि गरेको हो ।

पार्टीको प्रभावशाली तथा सदस्य संख्या ठूलो भएको भ्रातृसंस्था ट्रेड युनियन कांग्रेसमा देउवाविरोधी खेमा एकलौटी विजयी भएको छ । १७ पदाधिकारीसहित ४१ पदमा शुक्रबार भएको निर्वाचनमा देउवापक्षीय प्यानलबाट एक सदस्य मात्रै निर्वाचित भए । सबै पदाधिकारीसहित अन्य सदस्य संस्थापनइतर पक्षले जितेको छ ।

डेढ महिनायता भएका अधिवेशनमा पार्टीका प्रभावशाली भ्रातृ तथा शुभेच्छुक संस्था नेपाल शिक्षक संघ र निजामती कर्मचारी संघसमेत देउवाले आफ्नो पक्षमा राख्न सकेनन् । जबकि यी तीनवटै भ्रातृसंस्थामा यसअघि बहुमतसहित देउवा पक्षको नेतृत्व थियो । तीनवटै भ्रातृसंस्था संस्थापनइतर पक्षले जितेपछि देउवालाई ठूलो झड्का मात्रै लागेको छैन, कांग्रेसभित्र नेतृत्व परिवर्तनको मुद्दासमेत बलियो बन्दै गएको छ ।, आजको कान्तिपुरमा यो समाचार छापिएको छ ।


प्रतिक्रिया दिनुहोस्