प्रतिवद्धता पूरा गर्न माग प्रकाशित मिति : 10 June, 2018 4:05 pm ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, २७ जेठ / ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाका जनताले जनप्रतिनिधि समक्ष आफ्ना प्रतिवद्धता पूरा गर्न माग गरेका छन् । यसअघि निर्वाचनको समयमा उम्मेदवार भएर भोट माग्दै हिँडेका बेला दिएको आश्वासनसहित आफुले गरेका प्रतिवद्धता पूरा गर्न जनप्रतिनिधिसँग स्थानीय जनताले माग गरेका हुन् । पाथीभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको अगुवाइमा शनिबार आयोजना गरिएको एकीकृत घुम्तिशिविर तथा सार्वजनिक सुनुवाइ कार्यक्रममा निर्वाचन ताका गरेको प्रतिवद्धताअनुसार वर्ष दिन बित्ना लाग्दासमेत कुनै काम सुरु नभएकोभन्दै जनताले प्रतिवद्धता पूरा गर्न माग गरेका हुन् । कार्यक्रममा एक शिक्षिकाले सुत्केरी हुने महिलाका लागि प्रत्येक वडामा वर्थिङ सेन्टर (प्रसूति केन्द्र) को आवश्यक भएकाले सो स्थापना गर्न माग गर्नुभयो । स्थानीय तहको निर्वाचनको समयमा सुत्केरी हुने महिलाको सहजताका लागि प्रसूति केन्द्र स्थापना गर्ने भनी जनप्रतिनिधिले दिएको आश्वासनअनुसार अहिलेसम्म पनि कुनै काम नभएकाले त्यो काम सुरु गर्न उहाँले माग गर्नुभयो । यस्तै पाथीभरा याङ्वरक–५ की गङ्गामाया लिम्बूले पनि वडामा सुत्केरी गराउने ठाउँ नभएकाले सुत्केरी महिलाहरुको ज्यान जोखिममा रहेको बताउनुभयो । लिम्बूले जनप्रतिनिधिको पहलमा चाँडै सुत्केरी गर्ने ठाउँ (प्रसूति केन्द्र) बनाएमा सुत्केरी हुने महिलाका लागि ठूलो राहत मिल्ने बताउनुभयो । त्यस्तै पाथीभरा याङ्वरक गाउँपालिका वडा नं. २ र ४ जोड्ने फावाखोलामा मोटरेवल पक्की पुल निर्माण गर्नुपर्ने, डुम्रिसे–चाक्सिबोटे–थुम्बेदिन हुँदै साब्लाखु जोड्ने सडक निर्माणसँगै यसअघि निर्माण भएको सडकको स्तरोन्नति गर्नुपर्ने पनि स्थानीय जनताले माग गरेका छन् । साँच्चिकै गाउँ गाउँमा सिंहदरबारको अनुभूति हुनेगरी खानेपानी, बिजुली र किसानका लागि अन्य कार्यक्रमहरु तत्काल ल्याउनुपर्ने स्थानीय जनताले जनप्रतिनिधि समक्ष माग गरेका छन् । डुम्रिसेका जनताले आफ्नै वडामा प्रहरीचौकी स्थापना गर्नुपर्ने पनि माग गरेका छन् । हाल रहेको थुम्बेदिन प्रहरीचौकी टाढा भएकोले तत्काल शान्ति सुरक्षाको आवश्कता पर्दा उपलब्ध नहुनेभन्दै स्थानीयले डुम्रिसेमा प्रहरीचौकी स्थापना गर्नुपर्ने माग गरेका छन् । सार्वजनिक सुनुवाइमा जवाफदेही पक्षको रुपमा रहनुभएका पाथीभरा याङ्वरक गाउँपालिकाका अध्यक्ष केशरकुमार सुब्बाले निर्वाचनको समयमा गरिएका प्रतिवद्धता र योजनाअनुसार नै हाल कार्यपालिकाले काम गर्न सुरु गरेको बताउनुभयो । गर्भवती महिलाको सुविधाकै लागि गाउँपालिकाको छ वटै वडामा प्रसूति केन्द्र स्थापना गर्नेगरी गाउँ कार्यपालिकाले योजना बनाइसकेको सुब्बाले जानकारी दिनुभयो । उहाँले सडक, खानेपानी, विद्युत लगायत सम्पूर्ण विकासका पूर्वाधारहरुप्रति ध्यान दिँदै गाउँपालिकाले योजना बनाइरहेको बताउनुभयो । यता प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले स्थानीय जनताकै हितमा जिल्ला प्रशासन लगायत सबै सरकारी कार्यालयले पाएको जिम्मेवारी अनुसार सेवा प्रवाह गर्दै आएको बताउनुभयो । केन्द्र तथा प्रदेश सरकारको नीति निर्देशनबमोजिम प्रजिअको हैसियतमा आपूm काम गर्न तयार रहेको बताउँदै स्थानीय सरकारसँग पनि समन्वय र सहकार्यमा काम गर्दै आएको जिसीले बताउनुभयो । उहाँले अपेक्षा गरेअनुसार सार्वजनिक सुनुवाइमा स्थानीय जनताले कम चासो दिएका वा जिज्ञासा नराख्नाले सेवा प्रवाहको मूल्याङ्कनमा प्रभावकारिता नहुने बताउनुभयो । त्यस्तै जिल्ला समन्वय अधिकारी नरहरि भण्डारी, जिल्ला वन अधिकृत विष्णुलाल घिमिरे, प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेत, पाथीभरा याङ्वरकका उपाध्यक्ष रनमाया गुरुङ् र प्रमुख प्रशासकीय अधिकृत रमेश राईले पनि स्थानीय जनताले उठाएका सम्बन्धित सवालका विषयमा जवाफ दिनुभएको थियो । यसैबीच एकीकृत घुम्ती शिविरमार्फत जिल्ला प्रशासन कार्यालयले ६४ महिला र ५१ पुरुष गरी एक सय १५ जनालाई नागरिकता वितरण गरेको छ । जिल्ला स्वास्थ्य कार्यालयले एक सय २४ जनाको स्वास्थ्य परीक्षण साथै औषधोपचार गरेको छ भने आयुर्वेद स्वास्थ्य केन्द्रले एक सय १५ जनाको स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरेको छ । यस्तै महिला विकास कार्यालयले १८ जनालाई अपाङ्गताको प्रमाणपत्र प्रदान गरेको छ । कृषि विकास कार्यालयले ७१ जना सर्वसाधारणलाई बीउबिजन बाँडेको छ भने कृषि परामर्श समेत दिएको छ । पशुसेवा कार्यालयले पनि ७३ जना किसानलाई कीरा नियन्त्रण गर्ने विषादी र पशुपंक्षीसम्बन्धी परामर्श प्रदान गरेको जनाएको छ । जिल्ला वन कार्यालयले विभिन्न प्रजातिका बोट/बिरुवा बाँडेको छ भने डिचेनडोङ्ला आँखा अस्पतालले आँखाका विरामीहरुलाई उपचार सेवा प्रवाह गरेको थियो ।