थुम्बेदिनमा मलेरिया रोगी छैनन् प्रकाशित मिति : 8 June, 2018 6:46 pm ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, २५ जेठ / जिल्ला स्वास्थ्य कार्यालय ताप्लेजुङले जिल्लाको थुम्बेदिनमा मलेरिया रोगी नभएको पुष्टि गरेको छ । जिल्ला स्वास्थ्य कार्यालयले पाथीभरा याङ्वरक गाउँपालिका वडा नं. ६ साविक थुम्बेदिन गाविसलाई मलेरियाका रोगीहरु नभएको वडाको रुपमा पुष्टि गरेको हो । स्वास्थ्य कार्यालयका निमित्त स्वास्थ्य प्रमुख डाक्टर सचिन यादवको उपस्थितिमा थुम्बेदिनमा रहेको स्वास्थ्य संस्थाले गाउँभरिका बासिन्दासमक्ष पुगेर मलेरियाको सम्भावित रोगी खोज्ने कार्य (आरडीटी) सेवा सञ्चालन गर्दा कसैमा पनि सो रोगको लक्षण फेला नपरेको जनाइएको छ । निमित्त स्वास्थ्य प्रमुख डाक्टर यादवले थुम्बेदिनका छ सय जना सर्वसाधारणमा गरिएको परीक्षणमा मलेरिया रोगको लक्षण र रोगी फेला नपरेको जानकारी दिनुभयो । थुम्बेदिनको दुई ठाउँमा साविक वडा नं. ५ हिरुवादिन र स्वास्थ्य चौकीमा मलेरिया परीक्षण शिविर आयोजना गरिएको थियो । थुम्बेदिन स्वास्थ्य संस्थाका प्रमुख हेल्थ असिष्टेन्ट कृष्ण काफ्लेका अनुसार शिविरमार्फत जिल्ला अस्पतालका ल्याव इञ्चार्ज प्रकाश कार्की र निरज मानन्धरले रोग परीक्षण कार्यको सहजीकरण गर्नुभएको थियो ।