बालबालिकाको उपचारमा प्रयोग हुने उपकरण सहयोग प्रकाशित मिति : 5 June, 2018 7:35 pm ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, २२ जेठ / जिल्ला अस्पताल ताप्लेजुङलाई काठमाडौंका एक व्यक्तिले बालबालिकाको उपचारमा प्रयोग हुने विभिन्न उपकरण उपलब्ध गराउनुभएको छ । काठमाडौं ज्ञानेश्वरस्थित ‘पहिले बालबालिका नेपाल’ नामक संस्थाका अध्यक्षसमेत रहनुभएका प्रकाश अधिकारीले लाखौं मूल्य बराबरको उपकरणहरु जिल्ला अस्पताललाई उपलब्ध गराउनुभएको हो । उपचार सामग्री हस्तान्तरण गरिँदै । तस्बिर : प्रयास । बिरामी बालबालिकाको उपचारमा अनिवार्य आवश्यक पर्ने करिव छ लाख रुपियाँ मूल्य बराबरको उपकरण सामग्री ल्याएर अधिकारीले अस्पताललाई हस्तान्तरण गर्नुभएको छ । उहाँले उपलब्ध गराउनुभएको उपकरणहरुमा एक थान बेबी वारमर, ¥याल परीक्षण गर्ने उपकरण एक थान, उच्च तहको अप्रेशन थिएटर एकथान, अप्रेशन (शल्यक्रिया) लाई निर्मलीकरण गर्ने उपकरण एकथान, सिकिस्त बच्चालाई राखेर उपचार गर्ने उपकरण एकथान र बच्चाको मुटुको धड्कन नाप्ने उपकरण एक थान रहेको छ । यस्तै जिल्ला अस्पातलमा बाल उपचार कक्षको व्यवस्थापन गरी त्यहाँ बिभिन्न प्रकारका खेलौना सामग्री तथा उसका अभिभावक बस्न मिल्नेगरी कुर्ची समेतको व्यवस्था उहाँले गरिदिनुभएको छ । उक्त सम्पूर्ण सामग्री जिल्ला समन्वय समितिका प्रमुख घनेन्द्र मादेन, फुङ्लिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेलसहितको उपस्थितिमा अस्पताल विकास समितिका अध्यक्ष तेञ्जिङ शेर्पालाई हस्तान्तरण गर्नुभएको छ । आजभन्दा तीन वर्षअघि ताप्लेजुङ घुम्न आएको बेला उपचार सामग्रीको अभावमा अस्पतालका चिकित्सकहरुले अन्दाजका भरमा बालबालिकाको उपचार गरिरहेको पाएपछि आपूmलाई सहयोग गर्ने इच्छा पलाएको सहयोगी दाता अधिकारीले बताउनुभयो । अस्पतालको कहालीलाग्दो अवस्थालाई मध्यनजर गरी स्विडेनमा रहेका आफ्ना आफन्तसँग सहयोगको प्रस्ताव गरेको र आफ्नो प्रस्तावमा उनीहरुले समर्थन गरेपछि ताप्लेजुङ अस्पताललाई स्वास्थ्य उपकरण सहयोग गर्न सफल भएको उहाँको भनाइ छ । यता उपकरणको अभावमा अन्दाजका भरमा काम गरिरहेको बेला प्राप्त सामग्रीले ठूलो राहत मिलेको जिल्ला अस्पतालका डाक्टर सचिन यादवले बताउनुभयो । जोखिम मोलेरै काम गर्दै आएकोमा अब उपकरणको माध्यमबाट बालबालिकाको उपचार गर्न सहज हुने र जोखिम पनि कम हुने डाक्टर यादवले बताउनुभयो । आवश्यक उपकरण नभएपछि कम जोखिमयुक्त बालबालिकालाई समेत जिल्ला बाहिर रेफर गर्नुपर्ने बाध्यता रहेकामा त्यो अवस्थाको अन्त्य हुने पनि उहाँको भनाइ छ । चालू आर्थिक वर्षको साउनदेखि माघ महिनासम्ममा जिल्ला अस्पतालमा २९ जना बालबालिका उपचारका लागि भर्ना भएका थिए । यस्तै जिल्ला समन्वय समितिका प्रमुख मादेनले अस्पताललाई प्राप्त भएको स्वास्थ्य उपकरणहरुको अस्पताल प्रशासनले भरपुर सदुपयोग गर्ने छ भन्नेमा आपूm विश्वस्त रहेको बताउँदै सहयोगी दाता अधिकारीलाई धन्यवाद दिनुभयो । फुङ्लिङ नगर प्रमुख प्याकुरेलले स्थानीय सरकार साझेदार सबै क्षेत्रसँग समन्वय र सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउँदै दाताको मन जित्नेगरी अस्पतालले प्राप्त गरेको उपकरणको सञ्चालन, व्यवस्थापन र नियमन गर्न अस्पताल प्रशासनसँग आग्रह गर्नुभयो ।