एचपीएफद्वारा शिक्षकलाई तालिम

ताप्लेजुङ, १७ जेठ  /  ताप्लेजुङ स्थित ह्युमन प्राक्टिस फाउन्डेसन (एचपीएफ) को सहयोगमा दुई दर्जन बढी शिक्षकलाई विभिन्न विधाको तालिम प्रदान गरिएको छ ।

उक्त संस्थाको आर्थिक सहयोगमा जिल्लाका विभिन्न १२ वटा विद्यालयका २६ जना शिक्षकलाई आईटी अर्थात कम्प्युर, विज्ञान प्रयोगशाला र खेलकुद विधाअन्तर्गतको तालिम प्रदान गरिएको हो । फुङ्लिङ नगरपालिका–९ स्थित जनता माध्यमिक विद्यालय हाङ्देवाको आयोजनामा सञ्चालित उक्त तालिममा आईटी सम्बन्धी आठ जना, विज्ञान प्रयोगशालामा पाँच र खेलकुद विधामा १२ जना शिक्षक सहभागी भएका थिए ।

जनता माविका प्रधानाध्यापक शरदराज निरौलाका अनुसार आईटीअन्तर्गत कक्षा ७ र ८ को कम्प्युटर विषयमा आधारित तालिम प्रदान गरिएको थियो भने विज्ञानमा हाइड्रोजन ग्यास र धातुमा जलप लगाउनेसम्बन्धी तालिम दिलाइएको थियो ।
यस्तै खेलकुद विधाअन्तर्गत भलिबल, फुटबल, एथ्लेटिक्स लगायत खेलसम्बन्धी तालिम प्रदान गरिएको प्रधानाध्यापक निरौलाले जानकारी दिनुभयो ।

पाँच दिने छोटो अवधिको तालिम भए पनि निक्कै उपलब्धिमुलक भएको तालिममा सहभागी शिक्षकले बताएका थिए । तालिम सम्पन्न भएपछि तालिममा सहभागी शिक्षकहरुलाई शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका प्रमुख चैतन्यप्रसाद निरौलाले एक कार्यक्रमकाबीच प्रमाणपत्र वितरण गर्नुभएको थियो । यता ह्युमन प्राक्टिस फाउन्डेसनका कार्यक्रम निर्देशक नरेन्द्र लिम्बूले शैक्षिक विकास तथा गुणस्तरीय शिक्षाका लागि संस्थाले क्रियाकलाप गर्दै आएको बताउनुभयो ।

गुणस्तरीय शिक्षा र शैक्षिक विकासमा सहयोग पु¥याउने उद्देश्यले शिक्षकलाई विभिन्न तालिम प्रदान गर्नुका साथै विद्यालय भवन निर्माण, पुस्तकालय, खेलमैदान निर्माण र शैक्षिक सामग्रीहरु उपलब्ध गराउनमा संस्थाले सहयोग गर्दै आएको निर्देशक लिम्बूले जानकारी दिनुभयो ।

जिल्लामा संस्थाको कार्यालय स्थापना भएपश्चात हालसम्म विभिन्न २० वटा विद्यालय भवन निर्माण गर्नमा आर्थिक सहयोग उपलब्ध गराएको परियोजना संयोजक अजित गुरुङले जानकारी दिनुभयो । गुरुङका अनुसार उक्त सङ्ख्यामध्ये १३ वटा विद्यालय भवनहरु निर्माण सम्पन्न भइसकेका र बाँकी सातवटा निर्माणको अन्तिम चरण रहेका छन् । भवन निर्माण सम्पन्न भएका अधिकांश विद्यालयहरुमा पुस्तकालयको समेत स्थापना गरिदिएको उहाँले बताउनुभयो ।

-प्रयास लिम्बू


प्रतिक्रिया दिनुहोस्