समृद्धिको यात्रामा सहयोगी बन्न नेकपाका केन्द्रीय सदस्यलाई निर्देशन प्रकाशित मिति : 24 May, 2018 10:37 pm काठमाडौँ, १० जेठ / प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले समृद्धिको यात्रामा सरकारलाई सघाउन पार्टीका केन्द्रीय सदस्यलाई निर्देशन दिनुभएको छ । नवगठित नेकपाका केन्द्रीय सदस्यको बैठकलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक अधिकार प्राप्तिको लडाइँ सकिएकाले अब सामाजिक न्यायसहितको समृद्धिका लागि तोकिएको जिम्मेवारी सबैले पूरा गर्नुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको नेपाल कम्युनिष्ट पार्टीको पहिलो केन्द्रीय समितिको बैठकपछि बाहिर निस्कनु हुँदै पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर ः रत्न श्रेष्ठ, रासस अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादको आधार तय गर्न समृद्धिको यात्रामा लाग्नाको विकल्प नभएको बताउनुभयो । उहाँले एकताप्रति विश्वमा सकारात्मक सन्देश प्रवाह भएकाले अब जनताको विकासका लागि काम गरेर देखाउने समय आएको बताउनुभयो । बैठकमा दल दर्ता प्रयोजनका लागि केन्द्रीय सदस्यका हस्ताक्षर र नागरिकताको प्रतिलिपि संकलन गरिएको थियो । दुई दलबीच यही जेठ ३ गते एकता भएको थियो ।