नेपाल कम्युनिष्ट पार्टीले दियो केन्द्रीय कमिटीलाई पूर्णता

काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ। प्रधानमन्त्रीको सरकारी निवासमा सोमबार बसेको पार्टी सचिवालयको पहिलो बैठकले तत्कालीन एमाले र माओवादी केन्द्रबाट मनोनीत केन्द्रीय सदस्यहरुको सिफारिसलाई अनुमोदन गरेको हो। यो अनुमोदनसँगै पार्टीको ४४१ केन्द्रीय कमिटीले पूर्णता पाएको छ।

त्यसैगरी यस बैठकले पार्टीको संगठन एकीकरणका लागि अन्तरिम विधानको अधीनमा रही नियमावली मस्यौदा गर्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा कमिटी बनाएको छ। उक्त कमिटीमा पार्टीका नेताहरु देव गुरुङ, बेदुराम भुसाल र खिमलाल देवकोटा सदस्य रहने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। त्यस्तै, बैठकले सातवटा प्रदेश र विदेशका संगठन तथा कमिटीलाई एकीकरण गर्न पूर्व घटकका इन्चार्ज, संयोजक र सहसंयोजकहरु रहेको सुझाव कमिटी बनाउने निर्णय गरेको छ।

त्यसैगरी, जनसंगठनको एकताको सुझाव दिन पूर्व घटकको इन्चार्ज र मोर्चा प्रमुख रहेको अर्को कार्यदल बनाउने निर्णयसमेत गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए। उनका अनुसार सोमबार गठन भएका सबै कार्यदललाई १५ दिनको म्याद दिइएको छ भने केन्द्रीय कार्यालय धुम्बाराही वा पेरिसडाँडाका कार्यालयमध्ये एकलाई कायम गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही समयभित्र निर्णय लिनेछन्। त्यसैगरी, बैठकले नेकपाको मूल राजनीतिक प्रतिवेदन र अन्तरिम विधान प्रकाशन गर्ने निर्णयसमेत गरेको छ। एमाले र माओवादी केन्द्रको यही जेठ ३ गते एकीकरण भएको थियो। रासस


प्रतिक्रिया दिनुहोस्