केरुङ–काठमाडौँ रेलमार्गको अध्ययन गर्न चिनियाँ रेल प्रशासनका उच्च अधिकारी काठमाडौँ आउने प्रकाशित मिति : 5 May, 2018 6:45 pm काठमाडौँ, / केरुङ–काठमाडौँ रेलमार्गको अध्ययन गर्न चिनियाँ रेल प्रशासनका उच्च अधिकारी काठमाडौँ आउने भएका छन् । रेलमार्गको विषयमा सहमति जुटाउन चीन पुगेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव मधुसूदन अधिकारी र रेल विभागका महानिर्देशक अनन्त आचार्यसहितको टोलीसँग भएको सहमतिअनुसार चिनियाँ अधिकारी आगामी दुई साताभित्र नेपाल आउने तयारी गरेका छन् । रेल विभागका प्रवक्ता एवं सिनियर डिभिजनल इन्जिनियर प्रकाशभक्त उपाध्यायका अनुसार चिनियाँ रेल प्रशासनका उपप्रमुख जेङ जियान नेतृत्वको टोली रेलमार्ग अध्ययनका लागि यहाँ आउन लागेको हो । आगामी अगष्टसम्म केरुङ–काठमाडौँ रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन बुझाउने तयारी गरिएको छ । नेपालमा रेलमार्ग निर्माणका विषयमा नेपाली अधिकारी र चिनियाँ अधिकारीबीच चीनको सियानमा उच्चस्तरीय छलफल तथा भेटवार्ता भएको थियो । हालका सभामुख एवं तत्कालीन उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले २०७४ सालको भदौ अन्तिम साता गर्नुभएको चीन भ्रमणका क्रममा नेपालमा रेलमार्ग विस्तारबारे सघन पहल गर्नुभएको थियो । चिनियाँ प्रधानमन्त्री लि खछ्याङ र विदेशमन्त्री वाङ यीलगायतका नेतासँग रेलमार्ग निर्माणका बारेमा छलफल गर्नुभएको थियो । सो छलफललगत्तै चिनियाँ रेल प्रशासनका उच्च टोलीले केरुङ– काठमाडौँ, काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययन गरेको थियो । अध्ययनपश्चात् नेपालमा रेलमार्ग निर्माण गर्न सकिने प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाल सरकारलाई बुझाएको थियो । यस्तै परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले यही वैशाखको पहिलो साता गर्नुभएको चीन भ्रमणका क्रममा समेत रेलमार्ग निर्माण तथा विस्तारका बारेमा महत्वपूर्ण छलफल एवं विचार विमर्श भएको थियो । सोही छलफल र विचार विमर्शका आधारमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव अधिकारी र रेल विभागका अधिकारी चीन भ्रमणमा गएका हुन् । परराष्ट्र मन्त्री ज्ञवालीले अनुदानमा रेलमार्ग निर्माण गरिदिन चिनियाँ अधिकारीसमक्ष आग्रह गर्नुभएको थियो । नेपाली सीमा रसुवागढीदेखि काठमाडौँसम्मको रेलमार्ग करीब एक सय किलोमिटर लामो हुनेछ । करीब एक घण्टाको यात्रामा रसुवागढीबाट काठमाडौँ आइपुगिने प्रारम्भिक अध्ययनमा देखिएको छ । सो रेलमार्गबारे अध्ययन गर्न नेपाली प्रतिनिधिमण्डल यही वैशाख १५ गते चीन प्रस्थान गरेको थियो । नेपाल र चीनलाई जोड्ने सो रेल चीनको लाह्सा–सिगात्से हुँदै केरुङबाट रसुवागढी नाका भएर नेपाल प्रवेश गर्नेछ । सोही रेलमार्ग काठमाडौँबाट कुरिनटार हुँदै एउटा लाइन पोखरा जानेछ भने अर्काे लाइन लुम्बिनी जाने गरी प्रारम्भिक अध्ययन गरिएको छ । रेलमार्गमा सुरुङ र पुलको मात्रा बढी हुनेछ । सो रेलमार्गमा ६ वटासम्म स्टेशन रहने बताइएको छ । चीनबाट फर्केपछि रासससँग कुराकानी गर्दै रेल विभागका प्रवक्ता उपाध्यायले चिनियाँ अधिकारीसँग महत्वपूर्ण छलफल भएको जानकारी दिनुभयो । “आगामी अगष्टसम्म प्रारम्भिक अध्ययन प्रतिवेदन बुझाउने समयसीमा तोकिएको छ । सो अध्ययनपछि रेलमार्गका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर), लगानीको स्वरुप तथा ढाँचाका विषयमा आवश्यक प्रक्रिया अगाडि बढ्छ”, प्रवक्ता उपाध्यायले भन्नुभयो । चीनमा रहँदा नेपाली अधिकारीले चिनियाँ रेल प्रशासनका उच्च अधिकारीसँग रेलमार्ग निर्माणका बारेमा महत्वपूर्ण छलफल गरेको थियो । यस्तै काठमाडौँ उपत्यकामा पनि मोनोरेल चलाउन पनि चिनियाँ कम्पनीले प्रस्ताव गरेको काठमाडौँ महानगरपालिकाले जनाएको छ । चक्रपथमा मोनोरेल चलाउन काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यसँग चिनियाँ कम्पनीले प्रस्ताव गरेको हो । रासस